एजेन्सी – पोर्चुगल कप्तान क्रिस्टियानो रोनाल्डोले यूईएफए नेसन्स लिगको तयारीका लागि राष्ट्रिय टोलीको प्रशिक्षण सुरु गरेका छन् ।

पोर्चुगलले अर्को महिना हुने नेसन्स लिगको अन्तिम चरणका लागि बुधबारदेखि प्रशिक्षण थालेका हुन् । पोर्चुगलले सेमिफाइनलमा स्विटजरल्यान्डको सामना गर्दैछ । जुन ६ मा इंग्ल्यान्ड र नेदरल्यान्ड्सले खेल्नेछन् । यी दुई खेलको विजेताले उपाधिका लागि जुन ९ मा प्रतिस्पर्धा गर्नेछन् । पोर्चुगल सन् २०१६ को युरोपेली च्याम्पियनसिपको उपाधिपछि अर्को उपाधि जित्ने दाउमा छ ।
टोलीका डिफेन्डर जोसे फोन्टेले रोनाल्डोको आगमनले टोली थप बलियो हुने बताए । ‘ रोनाल्डो हाम्रो टोलीका कप्तान हुन् । विश्वकै सर्वोत्कृष्ट खेलाडी टोलीमा सामेल हुँदा पक्कैपनि राम्रो हुन्छ । हामी पूर्ण रुपमा तयार हुनेछौँ,’ उनले भने ।
रोनाल्डोले सन् २०१८ विश्वकपयता राष्ट्रिय टोलीबाट विश्राम लिएका थिए । उनलाई प्रशिक्षक फर्नान्डो सान्तोसले मार्चमा भएको युरो २०२० छनोट खेलको लागि टोलीमा समेटेका थिए । यस सिजन युभेन्टसका लागि लिगमा ३१ खेल खेल्दै २१ गोल गरेका रोनाल्डोले युभेन्ट्सलाई च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे । उनले लिगको सर्वोत्कृष्ट खेलाडीको अवार्ड पनि जिते ।