सुबास हुमागाईं, काठमाडौं
स्विडिस प्रशिक्षक योहान कालिन आएयता नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको स्वरुपमा परिवर्तन आएको छ । अघिल्लो महिना कुवेतविरुद्ध मैत्रीपूर्ण खेलका लागि कालिनले यु-२३ उमेर समूहका खेलाडी उपलब्ध नहुँदा केहि नयाँ खेलाडी समेट्दै पहिलो पटक राष्ट्रिय टोली गठन गरे । त्यसपछि उनले यु-२३ टोलीका खेलाडीसहित ४३ खेलाडीलाई प्रशिक्षणमा राखेर नयाँ टोली घोषणा गरे । नयाँ टोलीमा कालिनले पछिल्लो खेलमा आफूसँग रहेका खेलाडीलाई नै प्राथमिकता दिएको देखियो ।

कालिनले पछिल्लो पटक कुवेतविरुद्ध मैत्रीपूर्ण खेलमा १ बराबरी र १ हारको नतिजा निकाले । पहिलो खेलमा कुवेतलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो खेल भने १-० ले गुमायो । दुवै खेलमा गोलरक्षक किरण चेम्जोङ र डिफेन्सको प्रदर्शन उच्च रहयो । शारीरिक रुपमा नेपालभन्दा बलियो कुवेतसँग आक्रमणमा भने नेपाल खासै प्रभावशालि देखिएन ।
यद्यपि उक्त खेलमा केहि खेलाडीले डेब्यु गर्ने अवसर पाए । उक्त खेलमा डेब्यु गरेका रवी पासवान, विमल राना, सन्तोष तामाङ र रवी सिलवाल यसपटक पनि टोलीमा समेटिएका छन् । डेब्यु गर्न बाँकी रहेका सरोज दाहाल पनि मलेसिया भ्रमण गर्दैछन् । युवा विंगर अभिषेक रिजाल पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।

अन्तिम टोलीको घोषणा गरेपछि नेपाली टोलीले एक साता प्रशिक्षण गर्ने समय पायो । यसबिचमा प्रशिक्षक कालिनले टोलीमा क्रमिक सुधार भइरहेको बताएका छन् । ‘ हामीले ध्यान दिनुपर्ने धेरै पक्ष रहेका छन् । हामीसँग पर्याप्त समय नभएपनि विस्तृत तयारीका लागि प्रयास गरेका छौं । खेलाडीहरुले पनि निकै मिहिनेत गरेका छन् । हामी सकेसम्म राम्रो तयारी गर्दै अगाडी बढेका छौं,’ उनले भने । उनले टोलीको खेल्ने शैलीमा पनि केहि परिवर्तन गर्ने प्रयास गरिरहेको बताए ।

कुवेतविरुद्ध सेट पिसमा केहि समस्या भोगेको नेपालले यसपटक प्रशिक्षणमा केहि थप तयारी गरेको छ । प्रशिक्षक कालिनले कुवेतविरुद्ध खेलमा खेलाडीहरुको प्रयोग गर्दै टोलीको बेन्च कतिको बलियो छ भन्ने परिक्षण गरेका थिए । यसपटक भने उनले बलियो सुरुवाती ११ बनाउने लक्ष्य राखेको बताए । ‘ हामी यसपटक उत्कृष्ट सुरुवाती ११ खोज्ने लक्ष्यमा छौं । हामीसँग २३ खेलाडी छन् र दुवै खेलमा सबै खेलाडी प्रयोग गर्ने सोच छैन । दुई खेलमा केहि परिवर्तन हुन सक्छ तर यहि नै भन्ने यकिन गरेको छैनौँ,’ उनले थपे ।

कालिनले यू-२३ टोलीको खेलाडी समेटेसँगै टोलीमा प्रतिस्पर्धा निकै बढेको स्वीकारे । ‘ को खेलाउने भन्ने पक्का भएको छैन । टोलीमा परेका सबै खेलाडीको सम्भावना उत्तिकै छ । खेलाडीबिचको प्रतिस्पर्धा धेरै छ र एक अर्कोसँग खासै धेरै फरक स्तर पनि देखिन्न । यो कठिन कार्य हुनेछ तर टोलीको लागि भने राम्रो पक्ष हो,’ उनले टुंग्याए ।
नेपालले जुन २ मा मलेसिया र चाइनिज ताइपेइसंग जुन ६ मा खेल्दैछ । विश्वकप छनोटको दोस्रो चरणमा सिधै छनोट भएको नेपालले यसलाई तयारीको रुपमा लिएको छ ।
प्रशिक्षक योहान कालिनसँगको अन्तर्वार्ता :