एजेन्सी – कोपा अमेरिकाको तयारीमा रहेको दुई टोलीबीच भएको मैत्रीपूर्ण खेलमा ब्राजिलले कतारलाई पराजित गरेको छ । बुधबार राति भएको खेलमा ब्राजिल २-० ले विजयी रहेको हो ।

ब्राजिलको जितमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । खेलको १६ औं मिनेटमा रिचार्लीसनले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । त्यसको ८ मिनेटपछि ग्याब्रिएल जेससले गोल थप्दै ब्राजिललाई २-० ले अगाडी बढाए । उनले पहिलो गोल गरेका रिचार्लीसनको पासलाई सदुपयोग गरेका थिए । यसबिचमा ब्राजिलका स्टार खेलाडी नेयमार चोट बोक्दै मैदान छाड्न बाध्य भएका थिए ।
कतारले ९६ औं मिनेटमा गोल फर्काउने मौका गुमाएको थियो । गोलरक्षक एडरसनले पेनाल्टी क्षेत्रभित्र फल गरेपछि प्राप्त पेनाल्टीलाई बौलेम खौखीले सदुपयोग गर्न सकेनन । उनको प्रहार क्रसबारमा लागेको थियो । त्यसअघि रेफ्रीले ब्राजिललाई पेनाल्टी दिएपनि भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को मदतले निर्णय उल्टिएको थियो ।
ब्राजिलले अर्को साताबाट घरेलु मैदानमा हुने कोपा अमेरिकाको तयारी गरिरहेको छ । यसक्रममा नेयमारको चोट ब्राजिलको लागि टाउकोदुखाइ बन्ने देखिएको छ । नेयमार चोट लाग्नेबितिकै मैदानबाट बाहिरिएका थिए । उनको खुट्टामा आइस लगाइएको थियो र खुट्टा टेक्ने अवस्था नहुँदा सहयोगीले ड्रेसिङ रुमतर्फ लगेका थिए ।

ब्राजिलले कोपा अमेरिकाअन्तर्गत तयारीका लागि मैत्रीपूर्ण खेलमा सोमबार होन्डुरसको सामना गर्दैछ । अर्को शनिबार ब्राजिलले बोलिभियाको सामना गर्दै कोपा अमेरिका यात्रा सुरु गर्नेछ ।त्यसपछि ब्राजिलले बुधबार भेनेजुएला र आइतबार पेरुको सामना गर्नेछ ।