काठमाडौं (हाम्रो खेलकुद) – न्यु रोड टिम एनआरटीले चौथो संस्करणको ललित मेमोरियल यु–१८ फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा बुधबार भएको उद्घाटन खेलमा एनआरटीले भ्याली च्यासल युथ क्लबलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै विजयी शुरुवात गरेको हो । खेलको ५३ सेकेन्डमै एनआरटीले अग्रता लिन सफल भएको थियो । डिफेन्डरको गल्तीमा एनआरटीका रेजन माझीले गोल गरेका थिए ।
१९औं मिनेटमा च्यासलले बराबरी गोल गर्ने सुन्दर मौका खेर फाल्यो । नरेन्द्र बहादुर रावतको चिप प्रहार पोस्टबाट थोरै बाहिरिएको थियो । २४औं मिनेटमा एनआरटीका कप्तान मनिष थापाको फ्रिकिक प्रहार च्यासलका गोलरक्षकले मुस्किलले बचाए । लगत्तै दर्शन गुरुङले गोल गर्न सकेनन् । ४४औं मिनेटमा च्यासलले बराबरी गोल फर्काएपछि पहिलो हाफ १–१ गोलको बराबरीमा सकिएको थियो । च्यासलका लागि शेरब लो तामाङले उत्कृष्ट गोल गरेका थिए ।
५४औं मिनेटमा क्रितिश रत्न चुन्जुले गोल गर्दै एनआरटीलाई २–१ ले अघि बढाए । ६०औं मिनेटमा शेरबले च्यासलका लागि बराबरी गोल गर्ने मौका खेर फाले । उनको चिप प्रहार दोस्रो बारबाट थोरै बाहिरिएको थियो । ७९औं मिनेटमा एनआरटीले पेनाल्टीमा गोल गर्दै अग्रता ३–१ मा पुर्यायो । विवेक आलेले क्रितिशलाई पेनाल्टी बक्समा लडाएपछि प्राप्त पेनाल्टीमा सुजन शर्मा धितालले गोल गरे ।
८७औं मिनेटमा विवेक राईले गोल गर्दै टोलीलाई ४–१ को फराकिलो जित दिलाए । दोस्रो हाफमा च्यासलले केही मौका पाएपनि गोल गर्न नसक्दा पराजित हुन पुग्यो । प्रतियोगितामा अब असार ६ गतेदेखि मात्र खेल हुने एन्फाले जनाएको छ । दिनको पहिलो खेलमा संकटा र मच्छिन्द्र तथा दोस्रो खेलमा मनाङ र थ्री स्टारबीच खेल हुनेछ ।
प्रतियोगितामा ‘ए’ डिभिजनका १४ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको समूह ‘ए’ मा हिमालयन शेर्पा क्लब, न्युरोड टिम (एनआरटी), सिएमजी क्लब संकटा, मछिन्द्र क्लब र भ्याली च्यासल युथ क्लब रहेका छन् ।
ग्रुप अफ डेथ मानिएको समूह ‘बी’ मा उपाधिका दावेदार टोली त्रिभुवन आर्मी क्लब, रुस्लान थ्री स्टार क्लब, सिग्नेचर मनाङ–मस्र्याङ्दी क्लब, नेपाल एपीएफ महिन्द्रा फुटबल क्लब र फ्रेन्डस् क्लब रहेका छन् । समूह ‘सी’ मा नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज क्लब, सरस्वती युवा क्लब र जावलाखेल युथ क्लब रहेका छन् ।
प्रतियोगिता ३१ असारसम्म सञ्चालन हुनेछ । लिग कम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगिताको तीन समूह विजेता र उपविजेता तथा दुई उत्कृष्ट तेस्रो टोलीले क्वाटरफाइनलमा स्थान बनाउनेछ । प्रतियोगिताको विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ । उपविजेताले १ लाख ५० हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको लागि सबै टोलीलाई तयारी खर्च स्वरुप १ लाख २५ हजार प्रदान गरने एन्फाले जनाएको छ । प्रतियोगिताको सुरुवाती दुई संस्करण आर्मी च्याम्पियन बन्दा गत संस्करणमा ब्रिगेड ब्वाईज च्याम्पियन बनेको थियो ।