नुवाकोट (हाम्रो खेलकुद) – भ्याली च्यासल युथ क्लबलाई सडनडेथमा पराजित गर्दै सिएमजी क्लब संकटा नुवाकोटमा जारी दोस्रो नुवाकोट गोल्डकप फुटवल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
नुवाकोट आर्दश बहुमुखी क्याम्पस बट्टारको खेल मैदानमा बुधबार भएको खेलमा संकटाले च्यासललाई सडनडेथमा ७–६ ले पराजित गर्दै फाइनलमा आयोजक नुवाकोट–११ सँगको भेट पक्का गरेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।
पेनाल्टीमा संकटाका अमित तामाङ, मेसुएज पिएरे, अर्नेस्ट टम्पी, दिपेश आलेमगर, सरोज दाहाल, कोने बोरिस र सुभास गुरुङले गोल गरे । च्यासलका विक्रम लामा, अमिर श्रेष्ठ, वियक वियक, प्रिसो, देवेन्द्र तामाङ र छिरिङ गुरुङले गोल गर्दा अन्तिममा मिलन राई चुके ।
त्यसअघि खेलको १३औं मिनेटमा मिलन राईको गोलबाट च्यासलले खेलमा अग्रता बनाएको थियो । २४औं मिनेटमा संकटाका कोने बोरिसले बराबरी गोल फर्काएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । यससँगै फाइनल खेलमा घरेलु टोली नुवाकोट–११ र संकटाबीच खेल हुनेछ । फाइनल खेल शुक्रबार हुनेछ ।
नुवाकोट जिल्ला खेलकुद विकास समिति र नुवाकोट फुटवल संघको संयुत्त आयोजनामा भएको प्रतियोगिताको विजेताले ६ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ हात पार्नेछन । प्रतियोगिता आगामी ३१ गतेसम्म संचालन हुने छ ।