एजेन्सी – यूईएफए च्याम्पियन्स लिग विजता लिभरपुलका खेलाडीले उपाधि जितेवापत विशेष पुरस्कार पाउने भएका छन् ।

लिभरपुलले म्याड्रिडमा भएको फाइनलमा टोटेनहमलाई २-० ले पराजित गर्दै छैटौंपटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । यसै सफलतालाई मध्यनजर गर्दै आईडिजाइन गोल्ड नामक संस्थाले लिभरपुलको सिनियर टोलीका २८ जनालाई ३५ सय पाउण्ड (झन्डै ५ लाख नेपाली रुपैयाँ) पर्ने आइफोन एक्स उपहार दिने भएको हो । उक्त फोनमा २४ क्यारेट सुनजडित हुनेछ ।
फोनको पछाडी भागमा खेलाडीको नाम र जर्सी नम्बर अंकित रहेको छ । च्याम्पियन्स लिग फाइनलको याद दिलाउन ट्रफीको लोगो पनि साथमा राखिएको छ । संस्थाले खेलाडी र प्रशिक्षक गरेर २८ प्रति फोन तयार पारेको हो । समर्थकहरुले पनि उक्त फोन खरिद गर्न चाहेमा संस्थामार्फत खरिद गर्न सक्ने उल्लेख गरिएको छ ।
