काठमाडौं (हाम्रो खेलकुद) – उपाधिको दावेदार टोली चन्द्रपुर नगरपालिका रौतहटले राजधानी जारी प्रथम उपमेयर कप अन्तर नगरपालिका महिला फुटबल प्रतियोगितामा पहिलो हार बेहोरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपीएफ) को खेल मैदानमा मंगलबार भएको खेलमा चन्द्रपुर बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोकसँग १–० ले पराजित हुदै पहिलो हार बेहोरेको हो । खेलको ४३औं मिनेटमा अनु राईले गरेको गोल नै बाह्रविसको जितमा निर्णायक बन्यो ।
हारसँगै चन्द्रपुरको सेमिफाइनल पुग्ने सम्भावना झिनो बन्दा बाह्रविसेले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘सी’ मा चन्द्रपुरको ४ खेलबाट ९ अंक रहेको छ । एक खेल बाँकी रहेको बाह्रविसेको ९ तथा काठमाडौ महानगरपालिकाको ६ अंक रहेको छ । यो समूहबाट तीन टोलीको सेमिफाइनल पुग्ने सम्भावना जीवितै रहेको छ ।
चन्द्रपुरलाई सेमिफाइनल पुग्न काठमाडौंले अन्तिम खेलमा बाह्रविसेलाई कम मार्जिन पराजित गर्नुपर्ने हुन्छ । यता, काठमाडौंलाई सेमिफाइनल पुग्न अन्तिम खेलमा फराकिलो अन्तरमा पराजित गर्नुपर्ने हुन्छ । बाह्रविसेलाई भने बराबरी नै पर्याप्त छ ।
मंगलबार भएको अर्काे खेलमा घोराही नगरपालिका दाङले सान्त्वना जित हात पारेको छ । घोराहीले समूहको अन्तिम खेलमा शम्भुनाथ नगरपालिकालाई १०–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो । घोराहीको फराकिलो जितमा ममता पुन मगरले तेहोरो ह्याट्रिक पुरा गरिन् । एक गोल टीका केसीले गरिन् । समूह ‘ए’ बाट वालिङ नगरपालिकाले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।