काठमाडौं (हाम्रो खेलकुद) – बाह्रबिसे नगरपालिका सिन्धुपाल्चोक र विराटनगर महानगरपलिका राजधानीमा जारी प्रथम उपमेयर कप महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छन् ।

हल्चोकस्थित एपीएफको फुटबल मैदानमा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा बाह्रबिसेले वालिङलाई ३–० ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । बाह्रबिसेको जितमा पार्वती घलेले दुई तथा रजनी श्रेष्ठले एक गोल गरिन् ।
रजनी श्रेष्ठको गोलबाट बाह्रबिसे पहिलो हाफमा १–० को अग्रता बनाएको थियो । ५८औं मिनेटमा पार्वती घलेले गोल गर्दै बाह्रबिसेले खेलमा २–० को अग्रता बनायो । ६२औं मिनेटमा पार्वतीले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गर्दै बाह्रबिसेलाई ३–० को जितसहित उपाधिनजिक पुर्याइन ।

दोस्रो सेमिफाइनलमा विराटनगरले चौदन्डीगढी नगरपालिका उदयपुरलाई ३–० ले नै पराजित गर्दै फाइनलमा बाह्रबिसेसँगको भेट पक्का गर्यो । विराटनगरको जितमा जमुना गुरुङ, सावित्री मगर र इमा राईले गोल गरिन् । हल्चोकमा भएको खेलको ३१औं मिनेटमा जमुना गुरुङको गोलबाट विराटनगरले खेलमा अग्रता बनाएको थियो । ५१औं मिनेटमा सावित्री मगरले अग्रता दोब्बर पारिन् । ६५औं मिनेटमा इमा राईले गोल गर्दै विराटनगरलाई ३–० को जित दिलाइन् ।
बाह्रबिसे र विराटनगरबीच फाइनल खेल बिहीबार हुनेछ । जेठ ३१ गतेबाट शुरु भएको प्रतियोगितामा देशभरका १८ महानगर तथा नगरपालिकाले लिग कम नकआउटको आधारमा प्रतिस्पर्धा गरेका थिए । सहभागी टोलीलाई ४ समूहमा विभाजन गरिएको थियो । हरेक समूहका शीर्ष टोलीले सेमिफाइनलमा स्थान बनाएका थिए । प्रतियोगिताको विजेताले ५ लाख रुपैया हात पार्नेछन् । दोस्रो हुनेले ३ लाख रुपैयाँ पाउनेछन् ।
