एजेन्सी – नेपाली राष्ट्रिय टोलीका फरवार्ड विमल घर्तीमगर सम्मिलित टिसी स्पोर्ट्स क्लबले धिवेही प्रिमियर लिगमा सहज जित दर्ता गरेको छ । टिसीले युनाइटेड भिक्ट्रीलाई २-० ले हराउँदै लिगको दोस्रो स्थानमा यथावत रहेको हो ।

लिगमा अपराजित यात्रा कायम राख्ने क्रममा टिसीको जितमा दुवै गोल इस्माइल इसाले गरे । उनले दुवै गोल दोस्रो हाफमा गरेका थिए । खेलको ७० औं मिनेटमा कप्तान अब्दुल अक्रम घानीको फ्रिकिकलाई इसाले ६ यार्ड बक्स भित्रबाट गोलमा परिणत गरे । इन्ज्युरी समयमा वन भर्सेस वनको स्थितिमा गोल गर्दै इसाले टिसीको जित पक्का गरे । विमलले खेलमा पूरै ९० मिनेट मैदानमा बिताएका थिए ।
टिसीले लिगका ३ खेलमा २ जित र १ बराबरीसहित ७ अंक जोडेको छ । शीर्षस्थानको डे ग्रान्डेले ३ खेलमा ९ अंक जोडेको छ । टिसीले लिगको अर्को खेलमा आइतबार ग्रीन स्ट्रिटसको सामना गर्नेछ ।