एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टल प्यालेसबाट डिफेन्डर आरोन वान-बिसाकालाई ५० मिलियन पाउण्डमा अनुबन्धन गरेको छ ।

उमेर समूहमा इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै आएका २१ वर्षीय आरोनले युनाइटेडसँग ५ वर्षको लागि सम्झौता गरेका छन् । दुवै पक्षको समझदारीमा अर्को एक वर्ष सम्झौता थप हुने प्रावधान पनि रहेको छ । इंग्ल्यान्डको सिनियर टोलीमा हालसम्म नपरेका आरोनका लागि युनाइटेडले ५० मिलियन पाउण्ड खर्चेको हो । गत सिजन उनले क्रिस्टल प्यालेसका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए ।
युनाइटेडले यसअघि स्वान्सीबाट विंगर ड्यानीएल जेम्सलाई पनि अनुबन्ध गरिसकेको छ । टोलीका पूर्वकप्तान एन्टोनियो भ्यालेन्सियाले क्लब छाडेपछि युनाइटेड नयाँ राइट ब्याकको खोजीमा थियो । प्रशिक्षक ओले गुनार सोल्सजरले आरोनलाई पहिलो रोजाइमा खेलाउने बलियो सम्भावना छ ।