एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले यस सिजन लिगको सुरुवात अपेक्षित रुपमा गर्न सकेको छैन । टोलीका दुई मुख्य फरवार्ड लिओनेल मेस्सी र लुइस सुआरेजको अनुपस्थितिमा क्लबले निकै कठिनाइको सामना गर्नुपरेको छ ।
लिगको सुरुवाती ३ खेलमा नै बार्सिलोनाले ५ अंक गुमाएको छ । १ जित, १ बराबरी र १ हारसहित टोलीको जम्मा ४ अंक रहेको छ । यसै सिजन बार्सिलोनामा अनुबन्धित एन्टोइन ग्रिजमनले केहि हदसम्म आक्रमण सम्हाल्ने प्रयास गरेका छन् । तर उनले राम्रो साथ भने पाउन सकेका छैनन् । बार्सिलोनाले यसै साता लिगअन्तर्गत भ्यालेन्सियाको सामना गर्दैछ । उक्त खेलमा सुआरेज भने उपस्थित रहने सम्भावना रहेको छ ।
सुआरेजले यस साता पूर्ण रुपमा प्रशिक्षण थालेका छन् । लिगको पहिलो खेलमा एथलेटिक बिल्बाओसँग चोट बोकेपछि सुआरेजले लगातार दुई खेल गुमाएका छन् । उनी रियल बेटिस र ओसासुनाविरुद्ध खेलमा विश्राम गरिरहेका थिए । सुआरेजले अन्तर्राष्ट्रिय ब्रेकमा पनि बार्सिलोनामा नै रहेर सामान्य प्रशिक्षण गर्दै आफूलाई तयार पारेका थिए । अर्का फरवार्ड ओस्मान डेम्बेले पनि चोटबाट फर्कने तयारीमा रहेका छन् ।
सुआरेज प्रशिक्षणमा फर्कंदा मेस्सी भने अझै यस साताको लिग खेलका लागि तयार नहुने पक्का छ । उनी अझै पूर्ण रुपमा प्रशिक्षणमा आएका छैनन् । मेस्सीले मंगलबार हुने च्याम्पियन्स लिगको पहिलो खेलका लागि आफूलाई तयार गरिरहेको बुझिएको छ । बार्सिलोनाले पहिलो खेलमा बोरुसिया डर्टमुन्डको सामना गर्दैछ । यदि मेस्सी उक्त खेलका लागि पनि फिट नभएको अवस्थामा भने सेप्टेम्बर २१ मा ग्रानडाविरुद्ध खेलमा पुनरागमन गर्नेछन् । मेस्सीले जारी सिजन कुनै खेल खेलेका छैनन् ।