एजेन्सी – कप्तान लिओनेल मेस्सीले इन्ज्युरी समयमा पेनाल्टी गोल गरेपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार अर्को दक्षिण अमेरिकी टोली उरुग्वेसँग २-२ को बराबरीमा रोकिएको छ ।
खेलको ३४ औं मिनेटमा एडिन्सन काभानीले गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० ले पछाडी परेको अर्जेन्टिनालाई सर्जियो अगुएरोले ६३ औं मिनेटमा गोल गर्दै बराबरीमा ल्याएका थिए । उनले मेस्सीको फ्रिकिकमा हेडर मार्फत गोल गरे । तर त्यसको ४ मिनेट नबित्दै उरुग्वेले खेल बराबरीमा ल्यायो ।
बार्सिलोनाका फरवार्ड लुइस सुआरेजले फ्रिकिकमा गोल गर्दै उरुग्वेको अग्रता पुन: स्थापना गरे । उनको प्रहार गोलरक्षक आन्द्रादाले भेटेपनि बचाउन सकेनन् । इन्ज्यूरी समयमा उरुग्वेका डिफेन्डर मार्टिन कासेरेसले पेनाल्टी क्षेत्रभित्र ह्यान्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए । उक्त अवसरलाई मेस्सीले सदुपयोग गर्दै अर्जेन्टिनाको हार टारे ।
मेस्सीले अन्तर्राष्ट्रिय फुटबलमा फर्केपछि लगातार दोस्रो खेलमा गोल गरेका हुन् । उनले शुक्रबार ब्राजिलविरुद्ध भएको सुपरक्लासिको खेलमा पनि गोल गरेका थिए । उक्त खेलमा अर्जेन्टिना १-० ले विजयी भएको थियो ।