काठमाडौं (हाम्रो खेलकुद) – संघारमा रहेको १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको महिला फुटबलमा चार राष्ट्रको मात्रै सहभागिता रहने भएको छ ।
पाकिस्तान, भुटान र बंगलादेशले सहभागिता नजाउने भएपछि सागको महिला फुटबलमा ४ राष्ट्रको मात्रै सहभागिता रहने भएको हो । अब आयोजक नेपाल, भारत, श्रीलंका र माल्दिभ्सले मात्रै सागमा प्रतिस्पर्धा गर्नेछन् । ४ राष्ट्रको सहभागितासँगै खेलहरु राउन्ड रोविन लिगका आधारमा सञ्चालन हुनेछन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार गरेको खेल तालिका र टाइसिट ‘ड्र’ अनुसार नेपालले पहिलो खेलमा श्रीलंका प्रतिद्वन्द्वी पाएको छ ।
महिला फुटबल पोखरा रंगशालामा ३ देखि १० डिसेम्वरसम्म सञ्चालन हुने तालिका छ । लिग चरणको समापनपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।
हालसम्म सागको सबै संस्करणमा भारत च्याम्पियन बन्दै आएको छ । नेपाल भने लगातार रजतमा सीमित हुँदै आएको छ । महिला फुटबलले सागमा ११औं सागबाट प्रवेश पाएको हो । अघिल्लो संस्करणमा नेपालले लिग चरणमा भारतलाई गोलरहित बराबरीमा रोक्दै शीर्षस्थान हासिल गरेको थियो । तर फाइनलमा नेपाल भारतसँग ४-० ले पराजित भएको थियो ।
गत संस्करणमा ५ राष्ट्रको सहभागिता रहेपनि यसपटक बंगलादेश पनि सहभागी भएको छैन । नेपाली टोलीले विगत ५ महिनादेखि सागको तयारीमा रहेको छ । त्यसअघि साफ च्याम्पियनसिपमा नेपाली टोली भारतसँग नै पराजित भएको थियो ।