काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) खेलकुद लगत्तै सुरु हुने सहिद स्मारक ए डिभिजिन लिग फुटबलको शुक्रबार टाइसिट ‘ड्र’ का लागि सहभागी १४ क्लबका प्रतिनिधि अखिल नेपाल फुटबल संघ (एन्फा) ले बोलाएको थियो ।
तर टाइसिट ‘ड्र’ सुरु नहुँदै लिग नियमावली उपलब्ध नगराएको भन्दै लिगको सर्वाधिक सफल टोली सिग्नेचर मनाङ मस्याङ मस्र्याङ्दी,एनआरटी र च्यासल युथ क्लबले बहिष्कार गरेका छन् । एन्फाले आइतबारमात्र सम्म नियमावली उपलब्ध गराउने भनेपनि मनाङ अध्यक्ष छिमि उर्गेन गुरुङ, च्यासलका अध्यक्ष रमेश ब्यन्जनकार र एनआरटीका सुरेन्द्र श्रेष्ठले ‘ड्र’ कार्यक्रम छाडेका थिए ।
त्यसका बावजुद बाँकी १२ क्लबका प्रतिनिधि र एन्फाका पदाधिकारीको उपस्थितिमा खेल तालिका सार्वजनिक गरिएको थियो । एन्फाले मंसिर २८ गते लिग सुरु गर्ने घोषणा गरेको छ । क्लबहरु लिगको तयारीमा जुटिसकेका छन् । यसपटकको लिग दशरथ रंगशाला र एन्फा कम्प्लेक्समा हुनेछ । च्यासल मैदानलाई भने विकल्पका रुपमा राखिएको बताइएको छ ।
दशरथ रंगशालामा ५ वर्षपछि लिग फुटबल फर्कन लागेको छ । २०७२ वैशाखको विनाशकारी भूकम्पका कारण रंगशाला क्षति भएयता त्यहाँ कुनै पनि फुटबल भएको छैन । सागका लागि रंगशाला तयार भएपछि अब फुटबललाई सहज भएको छ ।
लिगको पहिलो खेल मच्छिन्द्र र बीबीसी बीच
सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेल मंसिर २८ गते मच्छिन्द्र र बीबीसीबीच हुनेछ । दोस्रो दिन मंसिर २९ गते दुई खेल सिएमजी क्लब संकटा र च्यासल युथ क्लब तथा त्रिभुवन आर्मी क्लब र फ्रेन्ड्स क्लबबीच हुनेछ । मंसिर ३० गते सरस्वती युथ क्लब र एनआरटीबीच तथा मनाङ र एपिएफबीच हुनेछ ।
त्यस्तै पहिलो चारणको अन्तिम दिन पुष १ गते रुस्लान थ्री स्टार क्लब र जावलाखेल युथ क्लब तथा नेपाल पुलिस क्लब र हिमालय शेर्पा क्लबबीच हुनेछ । पहिलो साताको कुनै एक खेलमा लिगको उद्घाटन गरिने बताइएको छ ।