काठमाडौं (हाम्रो खेलकुद)- छिरिङ याङदेनको ह्याट्रिक सहयोगमा भुटानले सातौं संस्करणको प्रधानसेनापति अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा सहज जित निकालेको छ ।
ललितपुरको लगनखेलस्थित नेपाली सेनाको सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको खेल मैदानमा मगंलबार भएको खेलमा पाहुना टोली भुटानले प्रदेश ५ लाई ३–० ले पराजत गर्दै विजयी शुरुवात गरेको हो ।
खेलको १९औं मिनेटमा छिरिङले गोल गर्दै भुटानलाई खेलमा अग्रता दिलाएकी थिइन् । २३औं मिनेटमा छिरिङले व्यक्तिगत दोस्रो गोल गर्दै भुटानलाई खेलमा पहिलो हाफमा २–० ले अघि बढाइन् । ५१औं मिनेटमा छिरिङले खेलमा ह्याट्रिक पुरा गरिन् । त्यसपछि थप गोल निस्कन नसक्दा भुटान ३–० ले विजयी हुन सफल भयो ।
प्रतियोगितामा बुधबार दुई खेल हुनेछ । दिनको २ बजे प्रदेश १ एपीएफ तथा अर्काे खेलमा सिक्किम आयोजक त्रिभुवन आर्मी क्लबबीच खेल हुनेछ । दुवै खेल लगनखेलमा हुनेछ । प्रतियोगितामा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा भारतको सिक्किम र भुटानको फुटबल टोलीको सहभागिता छ ।
९ पुससम्म चल्ने प्रतियोगिताको विजेताले ३ लाख, उपविजेताले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन्। सेमिफाइनल पुग्ने दुई टोलीले समान ५० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले १ थान स्कुटर प्राप्त गर्नेछन् । यस्तै, उत्कृष्ट गोलरक्षक, मिडफिल्डर, डिफेन्डर, फरवार्ड र प्रशिक्षकले जनही १० हजार प्राप्त गर्नेछन् ।