default_image

4 years ago

December 20, 2019

घरेलु फुटबल अर्थात अस्थिरताको पर्याय !

फेयर-प्ले प्रकाश तिमल्सिना, काठमाडौं घरेलु फुटबल बजार समयसँगै अस्थिर बन्दै गइरहेको छ । हरेक वर्ष कुन खेलाडी कुन क्लबमा खेल्छन् अनुमान गर्न सकिने अवस्था छैन । खेलाडी आफैं पनि त्यसको जवाफ दिन सक्दैनन् । घरेलु फुटबलमा एकरुपता नहुनु मुख्य कारण भएपनि क्लबहरुले लिगअघि मात्र तदारुकता देखाउँदा यो अवस्था सिर्जना भएको आँकलन गर्न सकिन्छ । मछिन्द्र […]

69 views

0 Bookmark

फेयर-प्ले

प्रकाश तिमल्सिना, काठमाडौं

घरेलु फुटबल बजार समयसँगै अस्थिर बन्दै गइरहेको छ । हरेक वर्ष कुन खेलाडी कुन क्लबमा खेल्छन् अनुमान गर्न सकिने अवस्था छैन । खेलाडी आफैं पनि त्यसको जवाफ दिन सक्दैनन् । घरेलु फुटबलमा एकरुपता नहुनु मुख्य कारण भएपनि क्लबहरुले लिगअघि मात्र तदारुकता देखाउँदा यो अवस्था सिर्जना भएको आँकलन गर्न सकिन्छ ।

मछिन्द्र क्लबले यसपटक बलियो टोली बनाउने प्रयासमा प्लेइङ सेटका लागि मात्र होइन बेन्च खेलाडीमा समेत अटाउने गरि नाम चलेका खेलाडी भित्र्याएको छ । अघिल्लो सिजन मात्र ए डिभिजनमा डेब्यू गरेको च्यासल युथ क्लबले राष्ट्रिय टोलीका नियमितसहित केहि खेलाडी अन्य ठूला क्लबबाट अनुबन्ध गरेको छ । च्यासलबाट लिग खेल्नको लागि नै भनेर जापानबाट फरवार्ड सन्तोष साहुखल स्वदेश फर्केका छन् । उनले साथमा ३ जापानी खेलाडी पनि ल्याएका छन् ।

वर्षौसम्म मनाङ मर्स्याङ्दी क्लबको जर्सीमा देखिएका बिताएका सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, हेमन गुरुङ, विशाल राई, विराज महर्जनलगायतले यो वर्ष एकै पटक क्लब छाडे र मछिन्द्रको यात्रा तय गरे । रुस्लान थ्री स्टारबाट धिमाल दाजुभाइ रञ्‍जित र विजय मछिन्द्र पुगे । च्यासलबाट देवन्द्र तामाङ र योगेश गुरुङले पनि मछिन्द्र नै रोजे । उता थ्री स्टारका सुनिल बल र एलेन न्यौपाने भने च्यासल गए ।

राष्ट्रिय टोलीका पूर्व कप्तान अनिल गुरुङ आफ्नो सुरुवाती क्लब ब्रिगेड ब्वाइज क्लब फर्किए भने राष्ट्रिय खेलाडी रन्जन विष्टले मनाङको बाटो तताए । राष्ट्रिय टोलीबाट लामो समय खेलेका विंगर जगजित श्रेष्ठ पनि मनाङबाट लिग खेल्न अष्ट्रेलियाबाट केहि समयका लागि स्वदेश फर्केका छन् । यसबीचमा केहि खेलाडी भने लिगमा अनुबन्धित नभई मोफसलको फुटबलमा नै व्यस्त देखिएका छन् ।

खेलाडीलाई लामो समय सम्झौतामा राख्ने परम्परा नेपालमा अझै विकास भइसकेको छैन । त्यसका बाबजुद पनि मनाङ र थ्री स्टारमा भने खेलाडीहरु अन्य क्लबको दाजोमा लामो समय बसेको अनुभव छ । तर, यो वर्ष आइपुग्दा परम्परागत बलियो मानिएका दुवै टोलीमा नयाँ खेलाडीको बाहुल्यता देखिएको छ । त्यसअर्थमा पनि अब घरेलु फुटबलमा परम्परागत टोलीकै बोलबाला रहन्छ नै भन्ने अवस्था छैन ।

विगतमा विभागीय टोलीमा अनुबन्धित भएपछि खेलाडीले करिअर सुनिश्चित भएको आभास गर्दथे । उमेर रहुन्जेल फुटबल खेल्ने र खेल जीवन सकिएपछि सरकारी जागिरमा पेन्सन पकाउने, त्यसैले पनि अघिल्लो जमानाका धेरै खेलाडीको करिअर पुलिस र आर्मीमा टुंगिन्थ्यो । एपीएफको आगमनले अझ खेलाडीहरुलाई अर्को विकल्प दिएको थियो । तर, पछिल्लो समय विभागीय टोलीबाट जागिर नै छाडेर अन्य क्लबमा अनुबन्धन हुनेको लर्को नै लाग्न थालेको छ ।

जावलाखेलले यसै सिजन पुलिसका हरि कठायत र एपीएफका रुपबहादुर लामालाई अनुबन्धित गर्यो । अघिल्लो सिजन पुलिसबाट लिग खेलेका दीनेश राजवंशीले लिग सकिएपछि जागिर नै छोडेर थ्री स्टारबाट मोफसल फुटबल खेले । उनले लिगका लागि च्यासलसँग अनुबन्धन गरे । राष्ट्रिय टोलीका नियमित डिफेन्डर रहेका आदित्य चौधरी एपीएफ छाडेर मनाङसँग जोडीए । एपीएफका भरपर्दा मिडफिल्डर राजेन्द्र रावल पनि यो सिजन संकटा पुगेका छन् । विभागीय टोलीबाट अन्य केहि खेलाडीले पनि छाड्ने हल्ला चलेपनि उनीहरुको प्रक्रिया भने विभागको अडानले गर्दा सफल हुन सकेन ।

मनाङ र थ्री स्टार अघिल्ला सिजनमा उपाधि दाबेदार टोलीका रुपमा गनिन्थे । यसपटक पनि क्लबले आफैंलाई उपाधि दाबेदारको रुपमा रहेको बताइरहँदा मैदानमा भने बिल्कुल फरक देखिन्छ । टोलीमा नाम चलेका खेलाडी छैनन्, र पहिलो खेलको प्रदर्शन हेर्दा सिमित नाम चलेका खेलाडीले उपाधि दाबेदारी प्रस्तुत गर्ने हो भने निकै कसरत गर्नुपर्ने देखिन्छ । बेन्चमा मात्र होइन, यसपटक यी दुई टोलीको सुरुवाती रोजाईमा नै ए डिभिजनमा ‘डेब्यू’ गरिरहेका खेलाडी छन् ।

कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिग गत साताबाट सुरु भइसकेको छ । सहभागी १४ मध्ये ४ टोलीले २ खेल खेलिसकेका छन् भने १० टोलीले समान १ खेल खेलेका छन् । अहिले नै टोलीको नजिताका आधारमा कसले जित्दा भन्ने अनुमान गर्न सकिन्न । तर, पनि विहानले दिनको संकेत गर्छ भने जस्तै केहि क्लब बलियो रुपमा प्रस्तुत भएका छन् । त्यसमध्ये मछिन्द्र र च्यासल पर्दछन् । दुवैले शुक्रबार मात्र एक अर्कासँग खेल्दै अंक पनि बाँडे ।

नयाँ सिजनमा खेलाडी अनुबन्धन गरेको आधारमा पनि यी दुई टोलीले परम्परागत दाबेदारलाई चुनौति दिने सम्भावना छ । मछिन्द्रले बिबिसीलाई र च्यासलले संकटालाई हराउँदै जितका साथ लिगको सुरुवात गरेका छन् । ती बाहेक मनाङ, आर्मी र एनआरटीले पनि विजयी सुरुवात गरेका छन् । तर, परम्परागत दाबेदारका रुपमा रहेको थ्री स्टार क्लबले बराबरीका साथ यात्रा सुरु गरेको छ । दशक अघि लिगको नियमित दाबेदार पुलिसले पनि यसपटकको सुरुवात बराबरीबाट नै गरेको छ ।

कम्तिमा लिगका आधा खेल (४५) खेल नहुँदा सम्म अहिलेको टोली को कत्ति बलियो छ भन्ने अनुमान गर्न कठिन छ । यत्ति हो की राष्ट्रिय टोलीमा रहेका खेलाडीको बाहुल्यताका आधारमा मछिन्द्र र च्यासल यसपटकका नयाँ दाबेदारका रुपमा मान्न सकिन्छ । आर्मीले पनि यसपटक उपाधिको खडेरी तोड्ने अनुमान लगाउन सकिन्छ ।

लिग कस्तो बनाउने भन्नेमा अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रष्ट योजना अझै देखिन्न । परम्परा धान्ने बाहेक लिगमा दर्शकको आकर्षण बढाउन सकिएको देखिदैन । ४ वर्ष पछि दशरथ रंगशालामा फुटबलको रौनक त फर्कियो , तर दर्शकलाई त्यसले तान्न सकेको छैन । लिगको पहिलो चरणका खेलमा दर्शकको उपस्थिति हेर्ने हो भने उत्साह जनक छैन ।

किन लिगप्रति दर्शकको रुची घट्दै गएको छ भन्नेमा एन्फाले न सर्वेक्षण गरेको छ , न त लिगमा नयाँपन दिने कुनै प्रयास गरेको छ । ए डिभिजन लिगका चर्चित क्लब भिड्दा असन, इन्द्रचोक, ठमेल सुनसान हुन्थे भन्ने दृष्टान्त अब घरेलु फुटबलमा कथा भइसकेको छ । क्लबहरुले पनि समर्थकहरुलाई मैदानसम्म तान्न कुनै कसरत गरेको देखिंदैन ।

दशक अघिसम्म पनि मनाङ, थ्री स्टार, पुलिस र आर्मी, यी चार टोलीबीच हुने प्रतिस्पर्धालाई निकै चासोका साथ हेरिन्थ्यो । लिग आयोजना र पद्दतिमा देखिएको अस्थिरता पनि सम्भवत यसको आकर्षण घट्नुको कारण मध्ये पर्दछन् । घरेलु फुटबलमा सानो विवादले लिग रोकिने मात्र होइन आयोजनामा पनि एक रुपता छैन । कहिले राष्ट्रिय लिग, कहिले सुपर एट, कहिले सुपर सिक्स त कहिले विना रेलिगेसनको लिग । लिग पद्दतिमै देखिएको अस्थिरताले लिगमाथि दर्शकहरुको विश्वास र आकर्षण क्रमशः घट्दै गएको छ ।

अर्को क्लबहरुमा पनि लिग प्रतिको आकर्षण विगतमा जस्तो देखिन्न । तयारीका लागि २० लाख, हरेक खेल जित्दा ५० हजार रुपैयाँ त राखिएको छ त्यति हुँदा पनि क्लबहरु अहिले पनि धानिने अवस्था छैन । केहि क्लबको आम्दानी राम्रो भएपनि बाँकी भने ऋणमै चल्नु पर्ने बाध्ययता छ ।
ऋण तिर्न कठिन भएर एनआरटीले ए डिभिजनको आफ्नो हैसियत नै छाडेको केहि वर्ष अघिको मात्र घटना हो । यद्दपी पछि क्लब पुन शीर्ष लिगमा फर्कन सफल भएको थियो ।

अहिले पनि क्लबहरुको भनाई मान्ने हो भने एउटा औसतको टोली बनाउनका लागि १ करोड रुपैयाँ खर्च हुने अवस्था छ । लिग नै जित्ने क्लबले पनि पुरस्कार वापत ५० लाख रुपैयाँ मात्र पाउने अवस्था छ । लिगको पहिलो, दोस्रो स्थान आउने क्लबले प्रायोजक पाउने अवस्था बनेमा कम्तिमा खर्च सम्म उठाउने अवस्था बन्न सक्छ । बाँकी क्लबले ऋण बोक्नु पर्ने अवस्था छ ।

मछिन्द्रकै उदाहरण हेर्ने हो भने क्लबले यस सिजन २ करोडमाथि बजेट रहेको बताएको छ । जसमा खेलाडी अनुबन्धनमा मात्र १ करोड खर्च हुने क्लबको दावी छ । अन्य क्लबमा पनि कुल खर्च १ करोड हाराहारीमै आउला । क्लबका केहि सिमित सदस्यले सहयोग स्वरूप उठाएर एक सिजन त क्लब चल्छ होला, तर दिर्घकालिन निकासका लागि भने पहल हुन सकेको छैन । वर्तमानको समस्या सुल्झाएर भविष्यबारे बिल्कुल चिन्ता नलिने परम्परा नै बसेको छ ।

कुनै समय थियो । फुटबल पनि सामाजिक कार्य जस्तै मानिन्थ्यो । अहिले परिस्थिति बदलियो, तर एन्फाको मानसिकता बदलिएन । फुटबल खेलेर क्लब बाच्ने अवस्था नबन्दा सम्म क्लब फुटबलमा लगानी पनि बालुवामा पानी हाले सरह नै हुनेछ । क्लब बाचे मात्र त्यसले खेलाडी बचाउन सक्छ । स-साना आन्तरिक विवादले समेत प्रभावित हुने नेपाली फुटबलमा दिल खोलेर लगानी गर्ने र त्यस वापत नाफा कमाउने अवस्था नबन्दा सम्म नेपाली फुटबलले यथास्थितिबाट माथि उठ्न सक्दैन । एन्फाले फुटबललाई व्यावसायिक बनाउने पक्ष त कागजमा नै सिमित हुने डर बढेको छ ।

छिमेकी भारतले नै लिगलाई आकर्षण बनाउनका लागि पछिल्ला केहि वर्षमा गरेको प्रयास र त्यसको फलस्वरुप आईएसएलको सफलताबाट पनि एन्फाले केहि सिक्न आवश्यक छ । नत्र, लिग फुटबल परम्परा धान्ने फगत एउटा प्रतियोगिता हुनेछ, फुटबल विकासको मेरुदण्ड हुने छैन ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.