काठमाडौं (हाम्रो खेलकुद)– कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा सोमबारका दुवै खेल दशरथ रंगशालामा हुने भएका छन् । यसअघि त्रिभुवन आर्मी क्लब र साविक विजेता मनाङ मस्र्याङ्दी क्लबबीचको खेल दिउँसो १२ बजेका लागि एन्फा कम्प्लेक्स सातदोबाटो तय थियो ।
तर नेपाल र भुटानको छात्रा यू १५ को मैत्रीपूर्ण खेल सोमबार हुने भएपछि एन्फाले आर्मी र मनाङको खेललाई दशरथ रंगशाला सारेको छ । आर्मी र मनाङ दुवै टोलीले जितका साथ लिगको सुरुवात गरेका थिए ।
आर्मीले फ्रेन्ड्सलाई २–१ ले हराएको थियो भने मनाङले एपिएफमाथि २–० को जित निकालेको थियो । सोमबार नै दशरथ रंगशालामा लिगको दोस्रो चरणको अन्तिम खेलमा पूर्व विजेता नेपाल पुलिस क्लब र रुस्लान थ्री स्टार क्लब प्रतिस्पर्धा हुनेछ ।
दुवै टोलीले बराबरीका साथ लिगको सुरुवात गरेका थिए । पुलिसले हिमालयन शेर्पासँग तथा थ्री स्टार र जावलाखेलबीचको खेल गोलरहित बराबरी खेलेका थिए । पुलिस र थ्री स्टारको खेल दिउँसो ३ः०० बजे सुरु हुनेछ ।