काठमाडौं (हाम्रो खेलकुद)– दुई महिनापछि भेट हुँदा नेपाली यू १५ छात्रा टोलीले भुटानको समकक्षी टोलीलाई सोमबार मैत्रीपूर्ण खेलमा ६–१ ले हराएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपाली टोलीको जितमा अमिषा कार्कीले ह्याट्रिक गरिन् भने कप्तान प्रिति राईले २ र सुनकली राईले १ गोल गरेकी थिइन् । सुनकलीको गोलबाट पाँचौं मिनेटमा नेपालले अग्रत बनाएको थियो ।
अमिषाले १२ औं मिनेटमा गोल गरिन् । भुटानका लागि कप्तान डेकी लाजोमले १४ औं मिनेटमा गोल फर्काएकी थिइन् । त्यसपछि नेपाल टोलीका लागि पहिलो हाफ हुन १ मिनेट बाँकी रहँदा कप्तान प्रितीले गोल गर्दै अन्तरलाई बढाइन् ।
४८ औं र ५४ औं मिनेटमा अमिषाले गोल गर्दै ह्याट्रिक पुरा गरिन् । कप्तान प्रितिले खेल सकिन १ मिनेट बाँकी रहँदा अर्को गोल गरेकी थिइन् । असोजमा भुटानमा भएको साफ यू १५ पछि यी दुई टोलीबीच पहिलो पटक भेट भएको हो ।
त्यति बेलाको खेल १–१ को बराबरीमा टुंगिएको थियो । सो प्रतियोगितामा नेपाल तेस्रो र भुटान चौथो भएको थियो । नेपाल र भुटानबीचको अर्को मैत्रीपूर्ण खेल बुधबार हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।