काठमाडौं (हाम्रो खेलकुद)– अध्यक्ष मिलन गुरुङ थुनामा रहेका कारण अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीले उपाध्यक्ष जगतबहादुर थापालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी तोकेको छ । बुधबार बसेको कास्की एन्फाको बैठकले उपाध्यक्ष मध्येका थापालाई उक्त जिम्मेवारी दिएको हो ।
बैंकिङ कसुरको अभियोगमा शुक्रबार पक्राउ परेका अध्यक्ष गुरुङ थुनामा रहेका छन् । एन्फाका केन्द्रिय अध्यक्ष कर्मा छिरिङ शेर्पाको सल्लाह र निर्देशन बमोजिम जिल्ला संघको बैठकले अर्को व्यवस्था नभएका सम्मका लागि थापालाई कार्यवहाक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरिएको बिहीबार संघका महासचिव रमेश कार्कीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
एन्फा कास्कीमा ३ निर्वाचित र २ मनोनित गरि ५ उपाध्यक्ष छन् । थापा मनोनित उपाध्यक्ष मध्येका हुन् । अध्यक्ष गुरुङ आर्थिक अनियमिताका विषयमा निकै विवादमा पर्दै आएका छन् । १३ औं दक्षिण एसियाली खेलकुद (साग) नेपाल महिला टोली राखेको होटेलका मालिकको उजुरीको आधारमा गुरुङ पक्राउ परेका थिए ।
त्यसबाहेक उनका विरुद्ध अन्य उजुरी पनि रहेको बताइएको छ । एन्फा कास्कीको आर्थिक गतिविधिका बारेमा केन्द्रले नै छानविन समिति गठन गर्ने एन्फा अध्यक्ष कर्मा छिरिङले यसअघि नै बताइसकेका छन् ।