झापा (हाम्रो खेलकुद) – कनकाई नगर खेलकुद विकास समिति झापा सहज जित हासिल गर्दै प्रदेश १ स्तरीय महिला फुटबल प्रतियोगिता सुखानी सहिद स्मृति गोल्डकपको फाइनलमा पुगेको छ ।
लेटाङ फुटबल क्लब मोरङलाई मंगलबार भएको पहिलो सेमिफाइनलमा २–० ले हराउँदै कनकाईले उपाधि नजिक पुगेको हो । पहिलो हाफमा लिएको अग्रतालाई जोगाउँदै कनकाईले अन्तिम दुईको यात्रा तय गरेको थियो ।
खेलको तेस्रो मिनेटमा कप्तान लक्ष्मी श्रेष्ठले गोल गरेकी थिइन् । ११ औं मिनेटमा ममता राउतले गोल गर्दै अग्रतालाई दोब्बर पारेकी थिइन् । उनले २५ यार्डको दुरीबाट गरेको प्रहारलाई लेटाङकी गोलरक्षकले बचाउन सकिनन् ।
कनकाईकी जसोदा लावती वुमन अफ दी म्याच घोषित भएकी थिइन् । उनलाई १ नम्बर प्रदेश सांसद अर्जुन राईले ३ हजार रुपैयाँ प्रदान गरे ।
साविक विजेता कर्णसिं सोनम एफसी ताप्लेजुङले धनकुटा जिल्ला फुटबल संघबीच बुधबा दोस्रो सेमिफाइनल हुनेछ ।
महिला फुटबल खेलाडीलाई प्रोत्साहन गर्ने उद्देश्यले सुखानी सहिद स्मृति प्रतिष्ठान अर्जुनधारा–९ झापाको आयोजनामा जारी प्रतियोगिता प्रदेश १ को सर्वाधिक राशीको प्रतियोगिता हो ।