एजेन्सी – स्पेनिस राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक लुइस इनरिकेले दर्शकविना फुटबल खेलिनु आफ्नै बहिनीसँग नाँचेभन्दा पनि नराम्रो देखिने बताएका छन् ।
क्याटलान क्लब बार्सिलोनाका पुर्व प्रशिक्षकसमेत रहेका इनरिकेले कोरोना कहरपछि गत हप्तादेखि शुरु भएको जर्मन बुन्डेसलिगाको खेलको अवलोकनपछि आफ्नो फरक खालको धारणा सार्वजनिक गरेका हुन् ।
‘कोरोना महामारीपछि फुटबल sउरु हुनु महत्त्वपूर्ण पक्ष हो । तर, दर्शकविना बन्द रंगशालामा खेल राम्रो देखिएना । यो आफ्नै बहिनीसँग नाच्नुभन्दा नराम्रो छ । म यसलाई एउटा शोकको रुपमा लिन्छु । यो दुखद दृश्य हो,’ इनरिकेले पार्टीमा एकल अनुभव भएको इंगित गर्दै कोलगाडोस डेल एरोलाई भने, ‘यसले राम्रो क्षणको घनिष्टता हराउछ । मेरो अनुमान छ कि यो ठूलो व्यवसाय हो जसले मानिस जोड्छ । यो म बुझ्छु । यस्तो अवस्थामा फुटबल र बास्केटबल हेर्नु अनौठो छ ।’
कोभिड–१९ ले दुई महिनाभन्दा बढी समय युरोपसँगै विश्वकै खेलकुद गतिविधि ठप्प पारेको थियो । जर्मन बुन्डेस लिगा गत सातादेखि शुरु भइसकेको छ । युरोपका अन्य तीन घरेलु लिग (स्पेनिस ला लिगा, इंग्लिस प्रिमियर लिग र सिरी ‘ए’) जर्मन बुन्डेसलिगाको सिको गर्दै सुरु गराउने योजनामा छ ।
स्पेनिस ला लिगा क्लबहरुले सोमबारदेखि कम्तीमा १० जनाको समूहमा एक आपसमा नजुधिकन प्रशिक्षण गरिरहेका छन् । ला लिगा जुन १२ बाट सुरु हुने सम्भावना छ । ५० वर्षीय स्पेनिस इनरिके २०१४ देखि २०१७ सम्म बार्सिलोनाका प्रशिक्षक रहेका थिए ।
सन् २०१८ पछि इनरिके स्पेनको प्रशिक्षक बनेका हुन् । उनले गतवर्ष बिचमा व्यक्तिगत कारणले केहि समय विश्राम लिएका थिए । कोरोनाकै कारण युरोकप २०२० अर्काे वर्षको लागि सरिसकेको छ । इनरिकेले अर्काे वर्षको लागि सारिएको युरोकप हुनेमा पनि शंका व्यक्त गरेका छन् ।