एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्स र साउथह्याम्टनले बराबरी खेल्दै अंक बाँडेका छन् । यि दुई टोलीले १–१ गोलको बराबरी खेलेको हो ।

मोलिनेक्स स्टेडियम वेस्ट मिडल्यान्डमा सोमबार राति भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको तेस्रो मिनेटमा नै पाहुना टोली साउथह्याम्टनले गोलको सुवर्ण अवसर खेर फालेको थियो ।
छैटौ मिनेटमा साउथह्याम्टनका गोलरक्षक एलेक्स म्याकार्थीले दोहोरो बचाउ गर्दै वल्भ्सको अग्रता टारे । २९औं मिनेटमा एडमा ट्राओरेको अर्काे प्रहारलाई म्याकार्थीले बचाए । ३६औं मिनेटमा जोओ मौटिन्होको फ्रिकिकमा ड्यानियल पोडेन्सको प्रहारलाई गोलरक्षक म्याकर्थीले नै विफल पारे ।

५८औं मिनेटमा थियो वाल्कोटल गा्ल गर्दै साउथह्याम्टनलाई १–० को अग्रता दिलाए । चे एडाम्सको पासलाई अनमार्क अवस्थामा रहेका उनले सहजै फिनिस गरेका थिए । ६४औं मिनेटमा एडाम्सको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा साउथह्याम्टन अग्रता दोब्बर पार्नबाट चुक्यो ।
७५औं मिनेटमा सब्सिच्युट खेलाडी पेड्रो नेटाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । राहुल जिमिनेजको शक्तिशाली प्रहार रिवाउन्ड भएर फर्किएको बललाई नेटोले जाली चुमाएका थिए ।
पेड्रो नेटो ७०औं मिनेटमा रुवेन नेभेसको स्थानमा मैदान छिरेका थिए । ७७औं मिनेटमा जोओ मौटिन्होको फ्रिकिकलाई जिमिनेजले हेडरमार्फत गोल गरेपनि अफसाइड ठहरिदा उनको गोलको मान्यता पाएन । ८३औं मिनेटमा पेड्रो नेटोकै प्रहारलाई गोलरक्षक म्याकार्थीले बचाए ।
यो बराबरीसँगै साउथह्याम्टन ९ खेलबाट १७ अंक जोडेर पाँचौ स्थानमा यथावत रहँदा वल्भ्स पनि १४ अंक जोडेर नवौं स्थानमा यथावत रहेको छ ।