एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार समूह जी अन्तर्गत युभेन्टसले घरेलु मैदानमा हंगेरीको फेरेन्कभारोससँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार मध्यरात १:४५ बजेपछि सुरु हुनेछ ।

युभेन्टसले च्याम्पियन्स लिगको पछिल्ला १० मध्य ८ खेल जितेको छ । यता प्रतिद्वन्द्वी फेरेन्कभारोसले भने पछिल्ला ५ खेलमा नै जित हासिल गर्न सकेको छैन । जारि सिजन भएको पहिलो खेलमा युभेन्टसले फेरेन्कभारोसको मैदानमा ४-१ को जित दर्ता गरेको थियो । उक्त खेलमा अल्भारो मोराटाले २ गोल गरेका थिए ।
युभेन्टसका लागि डिफेन्डरद्वय जिओर्जियो किएलिनी र लिओनार्डो बोनुची दुवै चोटका कारण उपलब्ध छैनन् । मरिह डेमीराल र म्याथिस डी लीग्टले सेन्टर डिफेन्स सम्हाल्ने सम्भावना छ । आरोन राम्जी चोटका कारण अनुपस्थित रहँदा मिडफिल्डमा एड्रीएन राबीओट र रोड्रीगो बेन्टानकुरले खेल्नेछन् । आक्रमणमा क्रिस्टियानो रोनाल्डो र मोराटाको जोडी नै रहनेछ ।
यता फेरेन्कभारोसले रक्षात्मक रणनीति अपनाउने देखिन्छ । प्रतियोगितामा एकमात्र अंकका रुपमा डिनामो किएभलाई बराबरीमा रोकेको हंगेरीको टोली बराबरीको लागि खेल्नेछ । युभेन्टसले भने आजको खेलमा जित हासिल गरे अर्को चरणमा स्थान पक्का गर्ने सम्भावना छ । त्यसका लागि बार्सिलोनाले किएभमा कम्तिमा बराबर गर्नुपर्ने छ ।
अंक तालिकामा बार्सिलोनाले ३ खेलमा ३ जितसहित ९ अंक जोडेको छ । युभेन्टसले ३ खेलमा २ जितसहित ६ अंक जोडेको छ । युभेन्टस बार्सिलोनासँग २-० ले पराजित भएको थियो । किएभ र फेरेन्कभारोसको समान १-१ अंक भएपनि किएभ गोलअन्तरले तेस्रो स्थानमा छ ।