एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको समूह बी अन्तर्गत बुधबार स्पेनिस च्याम्पियन रियल म्याड्रिडले इटालियन क्लब इन्टर मिलानको सामना गर्दैछ । खेल नेपाली समयानुसार मध्यरात १:४५ बजेपछि सुरु हुनेछ ।

चोटका कारण मुख्य खेलाडी अनुपस्थित रहेकाले रियलका प्रशिक्षक जिदानमाथि निकै दबाब रहेको छ । कप्तान सर्जियो रामोस र फरवार्ड करीम बेन्जेमा नहुँदा जिदानले उपलब्ध विकल्पको भरमा टोली उतार्नेछन् । यस्तै मिडफिल्डर फेडे भालभेर्डे र एडर मिलिसाओ पनि खेल्ने-नखेल्ने यकिन हुन सकेको छैन । फरवार्ड लुका जोभिच कोरोना संक्रमणका कारण बाहिर रहने छन् ।
यता इन्टरका प्रशिक्षक एन्टोनियो कोन्टेले फरवार्ड रोमेलु लुकाकु र लौटारो मार्टिनेजको जोडीलाई आक्रमणमा उतार्नेछन् । लुकाकुले रियलविरुद्ध पछिल्लो खेल चोटका कारण गुमाएका थिए । स्टाफानो सेन्सी, माटियास भेचिनो र आन्द्रीए पिनामोन्टि भने चोटका कारण उपस्थित रहने छैनन् । एलेक्जेन्डर कोलारोभ र मार्सेलो ब्रोजोभिच कोरोना संक्रमणका कारण बाहिर रहनेछन् ।

पछिल्लो खेलमा रियल म्याड्रिडले घरेलु मैदानमा ३-२ को जित दर्ता गरेको थियो । एक समय २-० ले अघि रहेको रियल पछि बराबरीमा पुगेपनि रोड्रीगोले बेन्चबाट मैदान छिर्दै गोल गरेपछि जित हासिल गर्न सफल रहेको थियो । उक्त खेलमा गोल गरेका रामोस र बेन्जेमा भने यस खेलमा उपस्थित रहने छैनन् ।
इन्टरले आजको खेलमा जित हासिल गरे रियल म्याड्रिडलाई उछिन्दै माथि जान सक्छ । यता रियल भने अपेक्षित नतिजा नआएको खण्डमा अंक तालिकाको पुछारमा जाने डर पनि छ । अंक तालिकामा अपराजित बोरुसिया मोन्चेनग्लाडबाकको ३ खेलमा ५ अंक छ । रियल र शाख्तर समान ४-४ अंक तथा इन्टर मिलानको २ अंक रहेको छ ।