काठमाडौं (हाम्रो खेलकुद)– कोरोना संक्रमणबाट मुक्त भएका राष्ट्रिय फुटबल टोलीका व्यवस्थापक मधुसुदन उपाध्याय बंगलादेशबाट आइतबार स्वदेश आइपुग्ने भएका छन् ।

मंगलबार गरिएको पछिल्लो कोरोना परिक्षण नेगेटिभ आएको अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रीय सदस्य समेत रहेका उपाध्यायले हाम्रो खेलकुदलाई जानकारी दिए । यात्राका लागि फेरि अर्को परिक्षणपछि स्वदेश फर्कने अनुमति मिलेको र त्यहि अनुसार आफूले तयारी गरिरहेको उनले जानकारी दिए । शनिबार बंगलादेशबाट हवाईमार्ग मार्फत कतार हुँदै आइतबार स्वदेश आइपुग्ने छन् ।
बंगलादेशको फुटबल टोलीसँग दुई मैत्रीपूर्ण खेलका लागि टोलीको नेतृत्व गर्दै उपाध्याय त्यहाँ पुगेका थिए । दोस्रो खेल सकिएको भोली पल्ट मंसिर ३ गते उपाध्यायलाई कोरोना संक्रमण पुष्टी भएको थियो ।
मैत्रीपूर्ण खेलका लागि टोली व्यवस्थापकको रुपमा कात्तिक २० गते बंगलादेश पुगेका उपाध्यायलाई फर्कने तयारीका क्रममा संक्रमण देखिएको थियो । टोलीका ३६ जनाको परिक्षणमा उनलाई मात्र संक्रमण देखिएको थियो । त्यसपछि उनलाई बंगबन्धु मेडिकल अस्पतालमा भर्ना भएका थिए ।
केहि दिनमा अस्पतालबाट डिस्चार्ज भएका उपाध्याय होटलमा आइसोलेसनमा बसेका थिए । उनलाई लक्षणसहितको संक्रमण भएको थियो । ‘धेरै नै गाह्रो भयो । पछिल्लो ३ दिन देखि मात्र मैले सहज महसुस गर्न थाले,’ उपाध्यायले भने, ‘अरुले भनेको सुन्दा सामान्य जस्तो लागेको थियो । तर, मलाई निकै कठीन भयो । ३ दिन निकै असहज महसुस गरे ।’
बंगलादेशसँगको दुई मैत्रीपूर्ण खेलको सिरिज नेपालले गुमाएको थियो । पहिलो खेलमा २-० को हार बेहारेको नेपालले अर्को खेलमा गोलरहित बराबरी खेलेको थियो । बंगलादेशबाट फर्केपछि कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जन बाहेक एन्फा होस्टलमै बसेको टोलीको पूनः कोरोना परक्षिण गरिएको थियो ।
सबैको रिपोर्ट नेभेटिभ आएपछि एन्फाले खेलाडीलाई २ साताको छुट्टी दिएको थियो । बंगलादेश जानुअघि प्रशिक्षणमा ५ खेलाडीलाई कोरोना संक्रमण देखिएको थियो । त्यस्तै बंगलादेश पुगेपछि रजिन धिमाललाई पनि संक्रमण देखिएको थियो ।
अर्को परिक्षणमा कोरोना मुक्त भएपछि रजिनले दोस्रो खेल खेलेका थिए । एकै पटक ५ जनालाई कोरोना भएपछि ८ नयाँ खेलाडीसहित टोली बंगलादेश पुगेको थियो । जहाँ ६ खेलाडीले राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए ।