एजेन्सी – खेलमा तीनपटक पछि परेको अवस्थामा जेमी भार्डीले इन्ज्युरी समयमा गोल गरेपछि इंग्लिस क्लब लेस्टर सिटी युइएफए युरोपा लिगको समूह चरणको चौथो खेलमा पोर्चुगिज क्लब ब्रागासँगको हारबाट जोगिएको छ ।

ब्रागामा बिहीबार राति भएको निकै नै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेल ३–३ गोलको बराबरी सकिएको हो । घरेलुटोलीले खेलको चौथो मिनेटमा नै अल मुसरातीको गोलबाट अग्रता लिएको थियो । नवौं मिनेटमा लेस्टरका हार्वे बार्नेसले बराबरी गोल फर्काए ।
२४औं मिनेटमा पाउलिन्होले रिकार्डाे होर्टाको पासमा गोल गर्दै ब्रागालाई पुनः २–१ को अग्रता दिलाए । २६औं मिनेटमा ब्रागाका गोलरक्षक म्याथुयसले सेङ्गिज अन्डरको प्रहारलाई उत्कृष्ट बचाउ गर्दै लेस्टरको बराबरी टारे । भिक्टोर टोरमेनाको ब्याकपासलाई अन्डरले नियन्त्रणमा लिदै गरेको प्रहारलाई म्याथुयसले बचाएका थिए । दोस्रो प्रयासलाई नुनोले विफल पारेका थिए ।

६८औं मिनेटमा लेस्टरका गोलरक्षक कास्परले पाउलिन्होको प्रहारलाई विफल पारे । ७५औं मिनेटमा लेस्टरका जोनी इभान्सले अवसर पाएपनि सदुपयोग गर्न सकेन । ७८औं मिनेटमा लुकी थोमसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।
९०औं मिनेटमा फ्रानसर्जियोले गोल गर्दै ब्रागालाई पुनः ३–२ को अग्रता दिलाए । तर, इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा जेमी भार्डीले मार्क अलब्राइटनको पासमा गोल गर्दै लेस्टरलाई हारबाट जोगाए ।
यो बराबरीले समूह ‘जी’ मा लेस्टर ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा रहँदा ब्रागा ७ अंकसहति दोस्रो स्थानमा रहेको छ । एइके एथेन्स र जोर्याको समान ३ अंक छ ।
यही समूहको अर्काे खेलमा युक्रेनी क्लब जोर्याले १० खेलाडीमा समेटिएको ग्रीसको एइके एथेन्समाथि ३–० को सहज जित हात पारेको छ । जोर्याको जितमा अर्टिम ग्रोमोभ, भ्लाडीस्लाभ काभायभ र भ्लाडलेन युरचेन्कोले गोल गरे ।
४९औं मिनेटमा यभहेन साकोभ दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएपछि त्यसको फाइदा जोर्याले उठाउन सफल भयो ।