एजेन्सी – युइएफए युरोपा लिगमा इटालियन क्लब रोमा र नेपोलीले जित दर्ता गर्दा एसी मिलान बराबरीमा रोकिएको छ ।

रोमाले रोमानियन क्लब सिएफआर क्लज तथा नेपोलीले क्रोएसियन क्लब रिजेका माथि समान २–० को जित दर्ता गर्दा मिलान फ्रान्सेली क्लब लिलसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोमाको जितमा भेरेटआउटले पेनाल्टीमा गोल गर्दा एक गोल उपहार पाएको थियो । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो ।

यो जितसँगै समूह ‘ए’ मा रोमा चार खेलबाट १० अंक जोडेर शीर्षस्थानमा यथावत रहँदा पराजित सिएफआर ४ अंकसहित तेस्रो स्थानमा रहेको छ । यही समूहको अर्काे खेलमा योङ ब्वाइजले पिइसी सिएसकेए सोफियालाई १–० ले हराएको छ । योङ ब्वाइजको ७ तथा सोफियाको १ अंक छ ।
यस्तै अर्काे खेलमा नेपोलीको जितमा माटियो पोलिटानो र हिर्भिङ लोजानोले गोल गरे । जितसँगै समूह ‘एफ’ मा नेपोली ९ अंक जोडेर शीर्षस्थानमा रहेको छ । रेजेकाले अंकको खाता खोल्न सकेको छैन ।

यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियल सोसिडाड र डच क्लब एजेट अल्कामारले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । दुवै टोलीको समान ७ अंक छ ।
यस्तै समूह ‘एच’ को खेलमा मिलान र लिलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । मिलानका स्यामुइल क्यास्टिलेजोले गोल गर्दा लिलका जोनाथन बाम्बाले बराबरी गोल फर्काएका थिए । यो बराबरीले लिल ८ अंक जोडेर शीर्षस्थानमा रहँदा मिलान ७ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

यही समूहको अर्काे खेलमा चेक रिपब्लिक क्लब स्पार्टा प्रागले स्कटिस क्लब सेल्टिकमाथि ४–१ को फराकिलो जित दर्ता गर्दै अर्काे चरणमा पुग्ने सम्भावना जीवितै राखेको छ । स्पार्टा प्रागको ६ तथा सेल्टिकको १ अंक छ ।