एजेन्सी – इंग्लिस क्लब टोटेनहम हट्सपरका प्रशिक्षक जोसे मोउरिन्होले अर्जेन्टिनी मिडफिल्डर डिएगो म्याराडोनालाई अमर बनाउन सबैको भूमिका रहने अभिव्यक्ति दिएका छन् ।

युरोपा लिग अन्तर्गत लुडोगोरेट्सविरुद्ध सहज जित हात पारेपछि पत्रकार सम्मेलनमा बोल्दै मोउरिन्होले म्याराडोनासँगको सम्बन्ध र उनीबारे चर्चा गरेका थिए । यसक्रममा उनले म्याराडोनालाई आउने समयमा पनि अमर बनाउन सबैले आफ्नो स्थानबाट उनीबारे जानकारी दिनुपर्ने बताए । मोउरिन्होले आफ्नो छोरालाई म्याराडोनाले खेलेको नहेरेपनि उनीबारे जानकारी दिएझैं आफ्नो छोराले पनि नातिलाई त्यसै गर्नुपर्ने बताए ।
मोउरिन्होले म्याराडोनाबारे दिएको अभिव्यक्तिको अनुवादित अंश :
डिएगो फरक थिए । जो डिएगोको परिवार, सहकर्मी र साथी भएर उनीसँग समय बिताए, उनीहरुले निकै ठूलो अवसर पाए । म्याराडोना खेलाडीका रुपमा विश्व प्रसिद्ध रहे । तर जो डिएगो एक व्यक्ति थिए, मैले पनि उनीसँग समय बिताएँ ।
म उनको नाम लिँदा अहिले पनि मुस्कुराउँछु किनकि मैले जति समय उनीसँग बिताए त्यो खुसीको पल थियो । मलाई दुख यो छ कि मैले धेरै समय उनीसँग बिताउन पाइनँ । उनले मलाई सधैं मेरो खराब हारमा सम्पर्क गर्थे, तर जितमा कहिले पनि गरेनन् । उनले सम्पर्क गरेर भन्थे,’ मोउरिन्हो तिमी उत्कृष्ट छौ ।’
डिएगो जस्ता खेलाडी फुटबलमा कमै हुन्छन् । मेरो छोराले म्याराडोनाको खेल हेर्न पाएन । तर मैले उसलाई डिएगोको खेल र भिडियो देखाएर उनीबारे जानकारी दिएको छु । उसले अब आफ्नो छोरालाई पनि म्याराडोनाबारे भन्नेछ । मेरो बुबाले मलाई डी स्टेफानोबारे भन्नुभएको थियो । हाम्रो युगमा म्याराडोना उत्कृष्ट थिए र मैले छोरालाई त्यो प्रष्ट पारेको छु ।