एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा साविक विजेता युभेन्टस बेनेभेन्टोको मैदानमा बराबरीमा रोकिएको छ । सुपरस्टार क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा युभेन्टसले अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा १-१ को बराबरी खेल्दै अंक बाँडेको हो ।

खेलको २१ औं मिनेटमा स्पेनिस फरवार्ड अल्भारो मोराटाले युभेन्टसलाई अग्रता दिलाएका थिए । उनले फेडेरिको किएजाको पासमा उत्कृष्ट फिनिस गर्दै पाहुना टोलीलाई अघि बढाएका थिए । पहिलो हाफमा नै कप्तान पाउलो डिबालाले अग्रता दोब्बर पार्ने अवसर चुकाएका थिए ।
पहिलो हाफको इन्ज्युरी समयमा बेनेभेन्टोले खेल बराबरीमा ल्यायो । मिडफिल्डर आर्थरले राम्रोसँग क्लियर गर्न नसकेको बललाई गातानो लेतिजियाले भली प्रहार गर्दै गोल गरेका थिए ।
खेलको अधिकांश समय युभेन्टसले बल पोसेसन राख्दै आक्रमण बुनेपनि बेनेभेन्टोको डिफेन्स तोड्न सकेन । खेलको अन्त्यतिर डिबालाले गोल गर्न सुवर्ण अवसर खेर फालेपछि युभेन्टस जित दर्ता गर्नबाट बन्चित भयो । खेल सकिएपछि फरवार्ड मोराटाले रेफ्रीलाई दुर्व्यवहार गरेपछि रेफ्रीले रातो कार्ड देखाएका थिए ।

यस बराबरीले युभेन्टस अंक तालिकामा पाँचौ स्थानमा रहेको छ । अपराजित रहेपनि युभेन्टसले ९ मध्य ५ खेलमा बराबरी गर्दै १७ अंक जोडेको छ । १२ औं स्थानमा रहेको बेनेभेन्टोको ९ खेलमा १० अंक छ । शीर्षस्थानको एसी मिलानको ८ खेलमा २० अंक रहेको छ ।