एजेन्सी – इंग्लिस प्रिमियर लिगमा लन्डन क्लब आर्सनल घरेलु मैदानमा वल्भ्ससँग स्तब्ध बनेको छ । आर्सनलले वल्भ्ससँग २–१ को हार बेहोरेको हो ।

वल्भ्सको जितमा पेड्रो नेटो र ड्यानियल पोडेन्सले गोल गरे । आर्सनलका गाब्रियलले गरेको गोल सान्त्वना बन्यो । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो ।
इमिरेट्स स्टेडियममा निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको २७औं मिनेटमा पेड्रो नेटोले गोल गर्दै वल्भ्सलाई अग्रता दिलाएका थिए । एडमा ट्राओरेले किरिएन टाएरनीलाई बिट गर्दै दिएको पासमा लिन्डर डिनडनकरको हेडर क्रस बारमा लागेर फर्किएको बललाई नेटोले जाली चुमाएका थिए ।

३०औं मिनेटमा विलियनको पासमा गाब्रियलले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । छिटो गरी लिएको कर्नरलाई विलियनले क्रस गरेपछि गाब्रियलले हेडरमार्फत जाली चुमाएका थिए ।
४२औं मिनेटमा ड्यानियल पोडेन्सले गोल गर्दै वल्भ्सलाई २–१ को अग्रता दिलाए ।
पहिलो हाफको थप गरिएको चौथे मिनेटमा ट्राओरेले सुवर्ण अवसर पाएपनि उनको प्रहार साइड नेटिङ हुन पुग्यो । ७३औं मिनेटमा वल्भ्सका गोलरक्षक रुइ प्याट्रिसियोले गल्ती गरेपनि कप्तान पिएरे इमरिक औबामियाङले खाली पोस्टमा गाल गर्न नसक्दा आर्सनल बराबरीबाट चुक्यो ।

आर्सनलमाथिको जितसँगै वल्भ्स १० खेलबाट १७ अंक जोडेर छैटौ स्थानमा उक्लिउको छ । पराजित आर्सनल १३ अंकसहित १४औं स्थानमा रहेको छ ।