एजेन्सी – इटालियन सिरी ‘ए’ मा अपराजित रहेको एसी मिलानले शीर्षस्थानमा ५ अंकको अग्रता कायम गरेको छ ।

आइतबार राति फियोरेन्टिनामाथि २–० को सहज जित हात पार्दै मिलानले शीर्षस्थानमा इन्टर मिलान र सस्सुलोलाई ५ अंकले पछि पारेको हो ।
शीर्षस्थानको मिलानको ९ खेलबाट ७ जित र २ बराबरीबाट २३ अंक पुगेको छ । समान खेलबाटै दोस्रो र तेस्रो स्थानमा रहेको इन्टर मिलान र सस्सुलोको समान १८ अंक छ । घरेलु मैदान मिलानोमा मिलानको जितमा एलेसिया रोमागनोली र फ्रान्क केस्सीले गोल गरे ।

केस्सीले पहिलो हाफमा पेनाल्टी चुकाएका थिए । खेलको १७औं मिनेटमा एलेसियो रोमागनोलीले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए ।केस्सीको पासमा रोमागनोलीले हेडर गोल गर्दा फियोरेन्टिनाका गोलरक्षक ड्रागोस्कीले रोक्ने कुनै अवसर नै पाएन । २१औं मिनेटमा फ्रान्क रिवेरीको प्रहार पोस्टमा लागेर फर्कदा फियोरेन्टिना बराबरीबाट चुक्यो ।
२७औं मिनेटमा केस्सीले पेनाल्टीमार्फत गोल गर्दै मिलानको अग्रता दोब्बर पार्यो । पेनाल्टी बक्समा एलेक्सिस सेलमेकरलाई जर्मन पिजेलाले फल गरेपछि रेफ्रीले मिलानलाई पेनाल्टी दिएको थियो । जसमा केस्सी चुकेनन् ।
४०औं मिनेटमा केस्सी पेनाल्टीमा चुके । थियो हर्नान्डेजलाई पेनाल्टी बक्समा मार्टिन कासरले फल गरेपछि रेफ्रीले मिलानलाई खेलमा दोस्रो पेनाल्टी प्रदान गरेको थियो । ५३औं मिनेटमा हकान कलहानोग्लुको प्रहार पोस्टमा लाग्दा मिलान थप अग्रता बढाउनबाट चुक्यो ।
५६औं मिनेटमा मिलानका गोलरक्षक जियानलुजी डोन्नररुम्माले रिवेरी र डुसान भ्लाहोभिकको समन्वयमा बनेको मुभलाई उत्कृष्ट बचाउ गरे ।
८५औं मिनेटमा इरिक पुल्गरको कर्नरमा जर्मन पिजेलाको प्रहारलाई डोन्नररुम्माले उत्कृष्ट बचाउ गर्दै फियोरेन्टिनाको गोल टारे ।