एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा आज राति इंग्लिस क्लब लिभरपुलले घरेलु मैदान एनफिल्डमा डच क्लब आयाक्सको सामना गर्दैछ ।

खेल नेपाली समयअनुसार रासत १ः४५ बजे हुनेछ । घरेलु मैदानमा लिभरपुल आयाक्सलाई पराजित गर्दै नकआउट चरणमा पुग्ने लक्ष्यमा हुनेछ । समूह ‘डी’ मा ४ खेलबाट ९ अंक जोडेको लिभरपुल शीर्षस्थानमा रहेको छ । आयाक्स र एटलान्टाको समान ७ अंक रहँदा अंकविहीन मिट्जेल्यान्ड पुछारमा छ ।
आयाक्सलाई हराउन सक्ने लिभरपुलले एक खेल अगावै च्याम्पियन्स लिगको नकआउट चरणमा स्थान पक्का गर्नेछ । लिभरपुल सोही लक्ष्यमा मैदान उत्रनेछ । तर, चोटसँग जुधिरहेको लिभरपुललाई लयमा रहेको आयाक्समाथि जित निकाल्न सहज हुने छैन ।
लिभरपुलको अग्रपङ्तिमा समस्या नरहेपनि रक्षापङ्ति कमजोर रहेको छ । चोटका कारण भर्जिल भान डाइक, जेम्स मिल्नर, अक्सलेड चेम्वरलेन, जोसेप गोमेज, थियागो अलकान्तरा, एलेक्सान्डर अर्नाेल्ड र जद्रान शाकिरी टोलीसँग हुनेछैन ।
रोबर्टाे फिर्मिनो, मोहम्मद सलाह, साडियो माने, डिएगो जोटा, जर्जिन्हो वाइनाल्डम, जोर्डन हेन्डरसन, जोइल मटिप, निको विलियम्स, एन्ड्रिउ रोबर्टसन र गोलरक्षक एलिसन बेकर टोलीमा रहनेछन् ।
यता, आयाक्स पनि घरेलु टोलीलाई स्तब्ध पार्दै नकआउट चरण पुग्ने सम्भावना बलियो बनाउने दाँउमा हुनेछ । आयक्सका लागि डुसान टाडिक, लास्सिना ट्राओरे, डेभिड नेरेस, डाले ब्लिन्ड, क्लासिन, ट्याग्लियाफिको र गोलरक्षक एन्ड्री ओनाना टोलीसँग रहेको छ ।
गत अक्टोवरमा लिभरपुलसँग १–० ले पराजित भएयता आयाक्स ८ खेलसम्म अपराजित रहेको छ । यता, लिभरपुलले भने पछिल्ला खेलहरुमा एकरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।
यही समूहको अर्काे खेलमा आज राति नै एटलान्टा र मिट्जेल्यान्डबीच राति १ः४५ बजे नै प्रतिस्पर्धा हुदैछ । एटलान्टाको नकआउट चरण पुग्ने सम्भावना जीवितै रहेको छ । मिट्जेल्यान्ड समूहचरणबाट बाहिरिसकेको छ ।