एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘सी’ मा आज राति दुई खेलमा प्रतिस्पर्धा हुदैछ । इंग्लिस क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब पोर्टाेको सामना गर्दा ग्रीसको क्लब ओलम्पियाकोस र फ्रान्सेली क्लब मार्सेबीच पनि आज रानि नै प्रतिस्पर्धा हुदैछ ।

दुवै खेल नेपाली समयअनुसार राति १ः४५ बजे हुनेछ । नकआउट चरणमा स्थान बनाइसकेको म्यानचेस्टर सिटी समूहमा अपराजित रहने लक्ष्यमा हुनेछ । सिटीले समूहमा चार खेल खेल्दा सबै चार खेलमा जित निकालेको छ ।
सिटीका लागि रहिम स्ट्रलिङ, गाब्रियल जेसस, फेरान टोरेस, बर्नाडो सिल्भा, रोड्री, फिल फोडेन, केभिन डि ब्रुयन, रुबेन डियास, एमेरिक लापोर्ट, केल वाल्कर र गोलरक्षक इडर्सन मोराएस जस्ता खेलाडीहरु रहेका छन् ।
यता, पोर्टाे पनि घरेलु मैदानमा सिटीलाई हराउदै च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्ने दाँउमा हुनेछ । पोर्टाेको ४ खेलबाट ९ अंक रहेको छ । बाँकी रहेको दुई मध्ये एक खेलमा जित हात पारेपनि पोर्टाेले नकआउट चरणमा स्थान सुरक्षित गर्नेछ ।
पोर्टाेका लागि मोउसा मारेगा, लुइस डियाज, जेसस कोरोना, मालाङ सार, युरिवे, सर्जियो ओलिभेइरा र गोलरक्षक अगस्टिन मार्चेसिनजस्ता खेलाडीको साथ रहेको छ । यि दुई टोलीको तीन भेटमा म्यानचेस्टर सिटीले नै सबै खेल आफ्नो पक्षमा पारेको छ ।