एजेन्सी – बेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ राउन्डको खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकमाथि ३–२ को रोमाञ्चक जित निकालेको छ ।

इन्टर मिलानको जितले समूह ‘बी’ बाट सबै चार टोलीको नकआउट चरण पुग्ने बाटो खुल्ला भएको छ । शीर्षस्थानको मोन्चेनग्लाडवाकको ५ खेलबाट ८ अंक छ । समान खेलबाटै साख्तर डोनेक्स र रियाल म्याड्रिडको ७ अंक रहँदा इन्टर मिलानले ५ अंक जोडेको छ ।
इन्टरको जितमा लुकाकुले दुई गोल गर्दा माटियो डार्मियनले एक गोल थपे । घरेलु टोलीका लागि एलासेन प्लेयाले दुई गोल गरेपनि हार टार्न सकेन । समूह चरणमा मोन्चेनग्लाडवाकको यो पहिलो हार हो । इन्टरसँगको हारसँगै बोरुसिया मोन्चेनग्लाडवाकले नकआउट चरण प्रवेशको लागि अर्काे खेल नै कुर्नुपर्ने भएको छ ।

बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमा इन्टर मिलानले खेलको १७औं मिनेटमा माटियो डार्मियनको गोलबाट अग्रता लिएको थियो । उनले रोबर्टाे गाग्लिआर्डिनीको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एलासेन प्लेयाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।
६४औं मिनेटमा मार्सेलो ब्रोजोभिकको पासमा रोमेलु लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए । ७३औं मिनेटमा लुकाकुले अचरफ हाकिमीको पासमा व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर मिलानले खेलमा ३–१ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो ।

७६औं मिनेटमा एलासेन प्लेयाले मार्कुस थुरामको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए । ८३औं मिनेटमा प्लेयाले गोल गरेपनि उनी अफसाइड ठहरिदा घरेलु टोली बराबरीबाट चुक्यो ।
यही समूहको अर्काे खेलमा स्पेनिस क्लब रियल म्याड्रिड युक्रेनी क्लब साख्तर डोनेक्ससँग २–० ले पराजित भएको छ । रियालको हारका डेन्टिन्हो र मानोर सोलोमोनले गोल गरेका थिए ।