काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल खेलाडी टंक बस्नेत नेपाली सेनाको प्राविधिक जमदारमा बढुवा भएका छन् । झन्डै डेढ दशकदेखि फुटबल खेलाडीका सक्रिय टंक भलिबलका राष्ट्रिय खेलाडी धनबहादुर भट्टसँगै हवलदारबाट जमदारमा बढुवा भएका हुन् ।

टंक र धनलाई सुचना तथा जन सम्पर्क निर्देशनालयमा बिहीबार प्राविधिक महासेनानी किशोरकुमार श्रेष्ठले दर्जान्ही चिन्ह प्रदान गरेका थिए । सुनसरी बराहक्षेत्र नगरपालिका ५ कालबन्जार स्थायी घर भएका टंक नौ वर्षअघि सेनामा भर्ती भएका थिए ।
प्राविधिक अमलदार, हुद्धा, हवलदार हुँदै उनी जमदारमा बढुवा भएका हुन् । सेनामा भर्ती हुनुअघि त्रिभुवन आर्मी क्लबबाट सम्झौतामा व्यवासायिक फुटबल खेलेका थिए । टंक फुटबल खेलाडीका रुपमा सक्रिय हुँदै सेनामा आबद्ध भएर यहाँ सम्मको यात्रा तय गर्दा गर्व महसुस भएको बताउँछन् ।

‘फुटबलकै माध्यमबाट आफ्नो ठाँउलाई चिनाउन सके । राष्ट्रिय टोलीबाट पनि खेल्ने मौका पाए,’ उनले भने, ‘सेना र फुटबलमा आफ्नो यात्रा सम्झदा खुसी लाग्छ, गर्व महसुस हुन्छ ।’ सन् २०११ मा पहिलो पटक राष्ट्रिय टोलीमा परेका टंक २०१५ सम्म टोलीको नियमित सदस्य थिए ।
पछिल्लो पटक २०१९ मा उनी कुवेतविरुद्धको मैत्रीपूर्ण खेलमा टोलीमा थिए । शरीरिरले साथ दिएमा अझै ४/५ वर्ष खेलाडीका रुपमा सक्रिय रहने उनको योजना छ । ‘अबको एकमात्र धोको भनेको आर्मीलाई लिग च्याम्पियन बनाउनु हो । एक पटक आर्मीलाई लिग च्याम्पियन बनाउने ठूलो इच्छा छ । दुई पटक उपाधि नजिक पुगेर दोस्रोमा चित्त बुझाएका छौं,’ उनले थपे, ‘देश भित्रका अधिकांश नकआउट प्रतियोगिता जितेका छौं । जित्न बाँकी लिग उपाधि हो । आफू खेल्दा टोलीलाई च्याम्पियन बनाउने धोको छ ।’

३३ वर्षे टंक परिवारका साथ त्रिपेरेश्वर बस्दै आएका छन् । टंक र जुनुका १० वर्षे छोरा र ३ महिनाकी छोरी छन् । आर्मीबाट खेल्नुअघि उनले थ्री स्टार क्लब, मनाङ मस्र्याङ्दी क्लबसहित ४ वटा ए डिभिजन क्लबबाट व्यवसायिक फुटबल खेलेका थिए ।
२०६३ मा सरस्वती क्लबबाट लिग खेलेका टंकले २०६४ को तिलोत्तमा गोल्डकपमा थ्री स्टारबाट प्रतिनिधित्व गरेका थिए । २०६६ मा ब्वाइज युनियनबाट लिग खेलेका उनले २०६७ मा मनाङलाई बुढासुब्बा गोल्ड कप च्याम्पियन बनाएका थिए । २०६७ मा मै उनी आर्मीमा सम्झौतामा आबद्ध भएका थिए ।
टंकसँगै बढुवा भएका गोरखाका धन २०७२ देखि राष्ट्रिय भलिबल टोलीका नियमित सदस्य छन् । तीन वर्ष अघि नेपाली टोलीले एभिसी सेन्ट्रल जोनमा कास्य पदक जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए । चार दशक लामो भलिबलको अन्तर्राष्ट्रिय यात्रामा नेपालको त्यो पहिलो पदक थियो ।