एजेन्सी – स्पेनिस ला लिगामा आज राति साविकको विजेता रियल म्याड्रिडले सेभियाको भ्रमण गर्दैछ । खेल नेपाली समयअनुसार राति ९ बजे रमन सान्चेज पिजुवान सेभियामा हुनेछ ।

घरेलु टोली सेभिया रियललाई पराजित गर्दै चौथो स्थानमा उक्लने दाउमा हुनेछ । सेभियाको ९ खेलबाट १६ अंक रहेको छ । १० खेल खेलेको रियल म्याड्रिडको १७ अंक छ । सेभिया घरेलु मैदानमा रियाललाई हराउँदै गत बिहीबार च्याम्पियन्स लिगमा चेल्सीसँग भोगेको ४–० को हारको पीडाको मल्हम लगाउने लक्ष्यमा हुनेछ ।
सेभियासँग लुकास ओकम्वास, लुक डि जोङ, ओलिभर टोरेस, फर्नान्डो, जोन जोर्डन, इभान राकिटिच, डिएगो कार्लाेस, जेसस नाभास, मार्काेस एकुना र गोलरक्षक टोमस भक्लिकको साथ रहेको छ ।
यता, रियल पनि सेभियालाई उसकै मैदानमा पराजित गर्दै लगातार दुई खेलमा बेहोरेको हारलाई पुर्णविराम लगाउने दाँउमा हुनेछ । सेभियालाई हराए रियलले भिल्लारियललाई पछि पार्दै तेस्रो स्थानमा उक्लनेछ ।
रियल ला लिगामा एलाभेससँग २–१ ले तथा च्याम्पियन्स लिगमा साख्तर डोनेक्ससँग २–० ले पराजित भएको थियो । कमजोर डिफेन्स र कमजोर फिनिसिङका कारण रियलले पछिल्ला खेलमा सोचेअनुरुपको प्रदर्शन गर्न सकिरहेको छैन ।
सेभियाविरुद्ध अनुभवी डिफेन्डर तथा कप्तान सर्जियो रामोस र फरवार्ड इडेन हाजार्ड टोलीसँग हुनेछैन । करिम बेन्जेमा, मार्काे एसेन्सियो, मार्टिन ओडेगार्ड, टोनी क्रुस, लुका मोड्रिच, क्यासमिरो, इस्को, राफयल भरान, फर्लान्ड मेन्डी, मार्सेलो, नाचो फर्नान्डेज, अल्भारो ओर्डिजोला, इडर मिलिटाओ र गोलरक्षक थिबाउट कोर्टुवा रहेका छन् । यस्तै ब्राजिली युवा खेलाडीद्धय भिनिसियस जुनियर र रोड्रिगो गोएसको पनि रियललाई साथ छ ।
यि दुई टोलीको पछिल्लो २६ भेटको नतिजामा रियालले १९ मा जित निकाल्दा १ बराबरी खेलेको छ । सेभिया ६ खेलमा विजयी भएको छ । रियाल सेभियासँग पछिल्लो तीन खेलमा अपराजित छ । त्यसअघि २०१८ मा रियल सेभियासँग दुवैपटक पराजित भएको थियो ।
अन्य खेल :
लेभान्टेविरुद्ध गेटाफे (राति ६ः४५ बजे), एट्लेटिको म्याड्रिडविरुद्ध रियल भालाडोलिड (राति ११ः१५ बजे) र क्याडिजविरुद्ध बार्सिलोना (राति १ः४५ बजे)