एजेन्सी – जर्मन बुन्डेसलिगामा शीष दुई स्थानमा रहेका बायर्न म्युनिख र आरबी लाइप्जिगबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल बायर्नको घरेलु मैदान एलिएन्ज एरिनामा नेपाली समयअनुसार आज राति ११ः१५ बजे हुनेछ । घरेलु मैदानमा हुने खेलमा बायर्न लाइप्जिगलाई हराउदै आफ्नो शीर्षतामा पकड बनाउने दाउमा हुनेछ ।
नवौं चरणको खेल सकिदा बायर्नको २२ तथा लाइप्जिगको २० अंक छ । लाइप्जिगलाई हराए बायर्नले शीर्षस्थानमा फराकिलो अग्रता लिनेछ ।
बायर्नसँग रोबर्ट लेवान्डोस्की, थोमस मुलर, किङ्सले कोमान, सर्ज जिनाब्री, लियोन गोरेट्जका, टोलिसो, अलवा, जेरोमी बोएटिङ, बेन्जामिन पाभार्ड र गोलरक्षक तथा कप्तान म्यानुयुल नोएरजस्ता विश्वस्तरीय खेलाडीको साथ रहेको छ ।
यता, यो सिजन उच्च लयमा रहेको लाइप्जिग पनि बायर्नलाई पराजित गर्दै शीर्षस्थानमा उक्लने दाँउमा हुनेछ । बायर्नलाई हराए लाइप्जिगले एक अंकको अग्रता बनाउनेछ । लाइप्जिगसँग फोर्सवर्ग, ड्यानियल ओल्मो, एनकुकु, सबित्जर, एन्जेलिनो, एडाम्स, हाल्सटेनवर्ग र गोलरक्षक गुलाक्सीको साथ रहेको छ ।
यि दुई टोलीको १० खेलको नतिजामा बायर्नले ५ खेल आफ्नो पक्षमा पारेको छ । ४ खेल बराबरीमा सकिदा एक खेल लाइप्जिगको पक्षमा छ । पछिल्लो दुई खेल बराबरीमा सकिएको छ ।
अन्य खेल
कोल्नविरुद्ध वल्फ्सवर्ग (राति ८ः१५ बजे), अर्मिनिया बिलेफिल्डविरुद्ध मेइन्ज (राति ८ः१५ बजे), फ्रान्कफर्टविरुद्ध बोरुसिया डर्टमुन्ड (राति ८ः१५ बजे), फ्रेइवर्गविरुद्ध बोरुसिया मोन्चेनग्लाडवाक (राति ८ः१५ बजे)