एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न दुई खेलमा प्रतिस्पर्धा हुदैछ ।
म्यानचेस्टर सिटीले घरेलु मैदानमा ब्राइटनसँग प्रतिस्पर्धा गर्दा टोटेनहम हस्टपरले पनि घरेलु मैदानमा फुलहमसँग खेल्दैछ ।

सिटी र ब्राइटनबीचको खेल राति ११ः४५ बजे हुनेछ । ब्राइटनलाई हराउदै सिटी अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । छैटौ स्थानमा रहेको सिटीको २९ अंक छ । समान २९ अंक नै रहेपनि टोटेनहम गोलअन्तरमा अघि छ ।
चोटका कारण फरवार्ड सर्जियो अगुइरोले ब्राइटनविरुद्ध खेल्ने सम्भावना न्युन छ । टोलीसँग गाब्रियल जेसस, केभिन डि ब्रुयन, रहिम स्टर्लिङ, बर्नाडो सिल्भा, रोड्री, इल्केए गुन्डोगान, रुवेन डियास, जोन स्टोन्स, केएल वाल्कर र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।
यता ब्राइटन पनि बलियो सिटीविरुद्ध अंक खोस्ने रणनीतिमा मैदान उत्रनेछ । १७ खेलबाट १४ अंक जोडेको ब्राइटन रेलिगेसन जोनभन्दा एक स्थान माथि छ । टोलीसँग निल मोउपे, एलेक्सिस म्याक एलिस्टर, लियान्द्रो ट्रोससार्ड, सोली मार्च, लेविस डंक र गोलरक्षक रोवर्ट सान्चेज रहेको छ ।
यि दुई टोलीको सबै ७ भेटमा सिटी विजयी भएको छ । सिटी सोही अपराजित यात्रालाई अघि बढाउन तत्पर रहँदा ब्राइटन सिटीविरुद्ध पहिलो जितको खोजीमा हुनेछ ।
यस्तै टोटेनहम र फुलहमबीचको खेल राति राति २ बजे टोटेनहम हस्टपर स्टेडियममा हुनेछ । टोटेनहम फुलहमलाई हराउदै तेस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । फुलहमलाई हराउन सके टोटेनहमले लेस्टर सिटी र एभर्टनलाई पछि पार्नेछ । लेस्टर र एभर्टनको समान ३२ अंक छ । टोटेनहमको २९ अंक छ ।
टोटेनहमसँग लयमा रहेका ह्यारी केन, ह्युङ मिन सनसँगै टांगी एनडोम्वेले, स्टेभन वर्गवाइन, ह्यारी विङ्स, सर्जियो रिगुइलोन, इरिक डाएर र गोलरक्षक ह्युगो लोरिसको साथ रहेको छ ।
यता, फुलहम पनि टोटेनहमलाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट माथि उठ्ने लक्ष्यमा हुनेछ । फुलहम ११ अंक जोडेर १८औं स्थानमा छ ।