काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् ।

बिहीबार पन्जाबले गोकुलम केराला फुटबल क्लबको सामना गर्दा टोलीको कप्तानी किरणले गर्ने भएका हुन् । नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित रहँदा किरणले टोलीको कप्तानी सम्हाल्ने भएका हुन् ।
पन्जाबले लिगमा दोस्रो खेल खेल्दैछ । पहिलो खेलमा आइज्वाल फुटबल क्लबविरुद्ध पन्जाबले १-० को जित दर्ता गरेको थियो । पहिलो खेलमा नै क्लिनसिट राख्न सफल किरणले दोस्रो खेलमा भने कप्तानी गर्न लागेका हुन् ।
पन्जाबसँगै पहिलो चरणमा चर्चिल ब्रदर्स, चेन्नई सिटि र मोहमडनले पनि जित दर्ता गरेका थिए । पन्जाबविरुद्ध आज खेल्न लागेको गोकुलमले पहिलो खेलमा चेन्नईसँग २-१ को हार बेहोरेको थियो ।
