एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका फरवार्ड लुका जोभिच लोनमा जर्मन क्लब आइट्राख्ट फ्रान्कफर्टमा पुगेका छन् । उनी ६ महिनाका लागि लोनमा आफ्नो पुर्व क्लब फ्रान्कफर्टसँग आवद्ध भएका हुन् ।

२३ वर्षीय सर्वियन फरवार्ड जोभिच १८ महिनाअघि ६० मिलियन युरोमा स्पेनिस महारथी रियलमा आएका थिए । सुरुवातमै प्रभाव जमाउन नसकेका उनी प्रशिक्षक जिनेदिन जिदानको नजरमा पर्न सकेनन् । उनले यो सिजन मात्रै ५ खेलमा अवसर पाएका थिए । जसमा चार स्पेनिस ला लिगा र एक च्याम्पियन्स लिगमा रहेको थियो ।
२०१८–१९ को सिजनमा जोभिचले फ्रान्कफर्टबाट ४८ खेलमा २७ गोल गरेका थिए । त्यसपछि उनी म्याड्रिड आएपनि सोचेअनुरुपको खेल पस्कन सकेनन् । त्यसबेला जोभिचलाई अनुबन्ध गर्न बार्सिलोनाले चासो देखाएपनि रियलले बाजी मारेको थियो ।
रियलले जोभिचलाई २०२५ सम्मका लागि अनुबन्ध गरेको थियो । रियलमा आएपछि चोटसँग जुधेका जोभिकले २७ खेल खेल्दा दुई गोल मात्रै गरेका छन् । फ्रान्कफर्टले भने जोभिचको आगमनले टोलीको प्रदर्शनसँगै आफ्नो प्रदर्शन पनि सुधार्ने अपेक्षा राखेको छ । फ्रान्कफर्ट १५ खेलबाट २३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।