काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला लिगको विजेताले १५ लाख रुपैया हात पार्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय महिला लिगको विजेतालाई १५ लाख रुपैयाँ प्रदान गर्ने घोषणा गरेको हो ।

यस्तै लिगको दोस्रो हुने टोलीले ८ लाख, तेस्रो हुनेलाई ५ लाख तथा चौथो हुने टोलीलाई ३ लाख प्रदान गरिने एन्फाले जनाएको छ । ७ माघबाट शुरु हुने प्रतियोगिताको खेल तालिका भने सार्वजनिक भएको छैन । एन्फाले छिट्टै नै खेल तालिका सार्वजनिक गरिने बताएको छ ।
७ माघबाट ७ फागुनसम्म हुने प्रतियोगतामा विभिन्न ७ टोलीको सहभागिता रहने छ । प्रतियोगितामा विभागीय टोली नेपाल एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, वालिङ नगरपालिका स्याङ्जा, चौदन्डीगढी नगरपालिका उदयपुर, चन्द्रपुर नगरपालिका रौतहट र विराटनगर महानगरपालिका मोरङको सहभागिता रहेको छ ।
लिगको सर्वाेत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ । हरेक विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षक (फरवार्ड, मिडफिल्डर, डिफेन्डर, गोलरक्षक र प्रशिक्षकले समान ५० हजार रुपैया प्रदान गरिनेछ ।
लिगको तयारीका लागि हरेक टोलीलाई १ लाख रुपैया र कोभिड रिलिफ फन्ड अनुरुप ५० हजार प्रदान गरिने एन्फाले जनाएको छ । हरेक खेलको प्लेयर अफ दि म्याचलाई ५ हजार प्रदान गरिनेछ । प्रतियोगितामा विभागीय बाहेक टोलीले चार विदेशी खेलाडी राख्न र खेलाउन पाउनेछ ।
प्रतियोगिता दौरान कुनै खेलाडी वा पदाधिकारीलाई कोरोना शंका लागेको खण्डमा आइसोलेसनको व्यवस्था एन्फाले गर्नेछ । प्रतियोगिता शुरु हुनुअघिको पिसिआर टेस्ट पनि एन्फाले नै गर्नेछ ।
लिगको उद्घाटन र समापन खेल त्रिपुरेश्वस्थित दशरथ रंगशालामा तथा अन्य खेलहरु सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा हुनेछ ।