एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति विभिन्न ५ खेलमा प्रतिस्पर्धा हुदैछ । लन्डन क्लब चेल्सीले फुलहमको सामना गर्दा वल्भ्स, लिड्स, वेस्ट ह्याम र लेस्टर सिटीले पनि प्रतिस्पर्धा गर्दैछ ।

चेल्सी र फुलहमबीचको खेल नेपाली समयअनुसार क्राभने कटेज लन्डनमा राति ११ः१५ बजे हुनेछ । सिजनको सुरुमा उत्कृष्ट प्रदर्शन गरेपनि चेल्सीले पछिल्लो समय सोचेअनुरुपको प्रदर्शन गर्न सकेको छैन ।
चेल्सी १७ खेलबाट २६ अंक जोडेर नवौं स्थानमा छ । प्रशिक्षक फ्रान्क लाम्पार्डलाई फुलहमविरुद्धको खेल निकै महत्वपुर्ण रहेको छ । यस खेलको नतिजाले चेल्सीमा लाम्पार्डको भविष्य निर्धारण गर्न सक्नेछ ।
पछिल्लो ७ खेलमा चेल्सीले २ जित मात्रै निकाल्दा ४ हार बेहोर्दा १ खेल बराबरी खेलेको छ । एफए कपमा लिग टु टोलीविरुद्ध लामो समयपछि गोलको खाता खोलेका जर्मन फरवार्ड टिमो वेर्नर टोलीको मुख्य हतियार हुनेछन् ।
यस्तै टोलीसँग ट्याम्मी अब्राहम, क्रिस्टियन पुलिसिस, हाकिम जियाच, मासन माउन्ट, जर्गिन्हो, माटियो कोभासिस, थियागो सिल्भा, बेन चिलवेल, रिस जेम्स कोर्ट जोउमा, ओलिभर जिरुउड र गोलरक्षक फर्लान्ड मेन्डी टोलीसँग हुनेछ ।
यता, फुलहम पनि चेल्सीलाई स्तब्ध पार्दै रेलिगेसन जोनबाट माथि उक्लेने दाउमा हुनेछ । फुलहम १६ खेलबाट १२ अंक जोडेर १८औं स्थानमा छ ।
अन्य खेल
वल्भ्सविरुद्ध वेस्ट ब्रम (साँझ ६ः१५ बजे), लिड्सविरुद्ध ब्राइटन (राति ८ः४५ बजे), वेस्ट ह्यामविरुद्ध बर्नले (राति ८ः४५ बजे) र लेस्टरविरुद्ध साउथह्याम्टन (राति १ः४५ बजे)