एजेन्सी – पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्की र जर्मन मिडफिल्डर थोमस मुलरको गोलसँगै जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिखले फ्रेइवर्गलाई २–१ ले पराजित गरेको छ ।

घरेलु मैदान एलिएन्ज इरिनामा आइतबार राति भएको खेलमा फ्रेइवर्गका निल्स पिटर्सनले गरेको गोल सान्त्वना बन्यो । खेलको सातौ मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट अग्रता लिएको थियो । सर्ज जिनाब्रीको पासमा थोमस मुलर दिएको चलाखीपुर्ण वान टच पासलाई लेवान्डोस्कीले उत्कृष्ट फिनिस गरेका थिए ।
१६औं मिनेटमा रोलान्ड सल्लाईले अवसर खेर फाल्दा फ्रेइवर्ग बराबरीबाट चुक्यो । २४औं मिनेटमा डेभिड अलवाको पासमा सज जिनाब्रीको प्रहारलाई फ्रेइवर्गका गोलरक्षक फ्लोरियन मुलरले बचाए ।

५८औं मिनेटमा लेवान्डोस्कीको प्रहार क्रसबारमा लागेर फर्कदा र त्यसपछि लियोन गोरेट्जकाको प्रहारलाई गोलरक्षक फ्लोरियनले बचाएपछि बायर्न अग्रता दोब्बर पार्नबाट चुक्यो ।
६२औं मिनेटमा निल्स पिटर्सनले मैदान प्रवेश गरेको पहिलो मिनेटमा पहिलो टचमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । कर्नरबाट आएको बललाई निकोलस होफ्लेरले फ्लिक गरेको हेडरलाई उनले हेडरमार्फत नै गोल गर्न सफल भएका थिए ।
७४औं मिनेटमा थोमस मुलरले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । किङ्सले कोमानले क्रस गरेको बललाई लिरोए साने पेनाल्टी बक्समा मिलाइदिएको पासलाई मुलरले उत्कृष्ट फिनिस गरेका थिए ।
७८औं मिनेटमा लेवान्डोस्कीले अर्काे सुवर्ण अवसरलाई सदुपयोग गर्न सकेनन् । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।
यो जितसँगै बायर्नले शीर्षस्थानमा ४ अंकको अग्रता कायम गरेको छ । बायर्नको १६ खेलबाट ३६ अंक पुगेको छ । समान खेलबाटै दोस्रो स्थानमा रहेको आरबी लाइप्जिगको ३२ अंक छ । पराजित फ्रेइवगै २३ अंक जोडेर आठौं स्थानमा रहेको छ ।