एजेन्सी – अतिरिक्त समयमा क्याटलान क्लब बार्सिलोनामाथि जित निकाल्दै एथ्लेटिक बिल्वाओ स्पेनिस सुपर कप च्याम्पियन बनेको छ ।

खेलमा दुईपटक पछि परेको अवस्थामा उत्कृष्ट पूनरागमन गर्दै बिल्वाओले १० खेलाडीमा समेटिएको बार्सिलोनालाई अतिरिक्त समयमा ३–२ ले पराजित गर्दै उपाधि हात पारेको हो ।
बिल्वाओलाई च्याम्पियन बनाउन ओस्कार डि मार्काेस, एसिएर भिल्लालिब्रे र इनाकी विलियम्सले गोल गरे । बार्सिलोनाका लागि दुवै गोल एन्टोइन ग्रिजमनले गरेपनि उपाधिका लागि पर्याप्त भएन ।

सेभिया स्पेनमा आइतबार राति भएको खेलमा बार्सिलोनाले खेलको ४०औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको थियो । उनले कप्तान लियोनेल मेस्सीको १२ यार्ड टाढाको प्रहार डिफ्लेक्ट हुदै आएको बललाई ग्रिजमनले जाली चुमाएका थिए ।
तर, बार्सिलोनाको त्यो अग्रता लामो समय टिकेन । ४२औं मिनेटमा इनाकी विलियम्सको पासमा ओस्कार डि मार्काेसले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ७७औं मिनेटमा ग्रिजमनले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । उनले जोर्डी अल्वाको पासमा गोल गरेका थिए ।

९०औं मिनेटमा सब्सिच्युट एसिएर भिल्लालिब्रेले इकर मुनिएनको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउदै अतिरिक्त समयमा लम्ब्याए । उनी ८३औं मिनेटमा राहुल गार्सियाको स्थानमा मैदान छिरेका थिए ।
अतिरिक्त समयको तेस्रो मिनेट अर्थात ९३औं मिनेटमा इनाकी विलियम्सले इकर मुनिएनको पासमा गोल गर्दै बिल्वाओलाई ३–२ को अग्रता दिलाए । ११२औं मिनेटमा ग्रिजमन ह्याट्रिकबाट चुक्दा खेल बराबरीमा ल्याउन सकेन ।
अन्तिम समयमा कप्तान लियोनेल मेस्सी रातो सिधै रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि बार्सिलोना १० खेलाडीमा समेटियो । सँगै रहेका बिल्वाओका खेलाडीलाई हातले धकेल्दै लडाएपछि रेफ्रीले भिएआरको सहायता लिदै मेस्सीलाई रातो कार्ड देखाउदै मैदान बाहिर पठाएका थिए ।
बिल्वाओको यो तेस्रो सुपरकप उपाधि हो । यसअघि बिल्वाओले १९८४ र २०१५ मा उपाधि जितेको थियो । बार्सिलोनाले सर्वाधिक १३ पटक सुपरकपको उपाधि जितेको छ ।