एजेन्सी – इंग्लिस प्रिमियर लिगमा शीर्ष होडमा रहेको म्यानचेस्टर युनाइटेड र लिभरपुलले गोलरहित बराबरी खेल्दा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ ।

एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुल र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाँडेका हुन् । घरेलु मैदानमा लिभरपुलले बल पोसेसनमा पकड राखेपनि युनाइटेडको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्यो बन्यो ।
१७औं मिनेटमा जद्रान शाकिरीको पासमा मानले उपलब्ध गराएको पासमा रोबर्टाे फिर्मिनोको प्रहार बाहिरियो । २१औं मिनेटमा एन्ड्रिउ रोबर्टसनको पासमा जद्रान शाकिरीले गोल गर्न सकेनन् ।

२६औं मिनेटमा जर्जिनो वाइनाल्डमको प्रहारलाई भिक्टोर लिन्डेलफले क्लियर गर्ने प्रयास गरेपनि जद्रान शाकिरीले गरेको प्रहारलाई कप्तान ह्यारी मिगुएरले संकट टारे । ३४औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार आकासिदा युनाइटेड अग्रता लिनबाट चुक्यो ।
५३औं मिनेटमा एन्थोनी मार्सियालको पासमा ब्रुनोको प्रहारलाई फाविन्होले क्लियर गर्दै खेललाई गोलरहित अवस्थामा राखे । ५९औं मिनेटमा रोबर्टसनको पासमा फिर्मिनोको प्रहारलाई ह्यारी मिगुएरले उत्कृष्ट ब्लक गरे । ६५औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहारलाई लिभरपुलका गोलरक्षक एलिसन बेकरले उत्कृष्ट बचाउ गरे ।
७५औं मिनेटमा ब्रुनोको प्रहारमा एलिसन नै बाधक बने । ७८औं मिनेटमा थियागो अलकान्तराको प्रहारलाई युनाइटेडका गोलरक्षक डेभिड हे गेयाले बचाए ।
यो बराबरीले युनाइटेड १८ खेलबाट ३७ अंक जोडेर शीर्षस्थानमा रहँदा लिभरपुल भने चौथो स्थानमा झरेको छ । लिभरपुलको ३४ अंक छ । दोस्रो र तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र लेस्टर सिटीको समान ३५ अंक छ ।
यस्तै प्रिमियर लिगकै अर्काे खेलमा म्यानचेस्टर सिटीले क्रिस्टल प्यालेसमाथि ४–० को सानदार जित निकाल्दै दोस्रो स्थानमा उक्लिएको छ । सिटीको जितमा जोन स्टोन्सले २ तथा इल्केए गुन्डोगान र रहिम स्टर्लिङले समान १–१ गोल गरे ।
यो नतिजासँगै सिटीको १७ खेलबाट ३५ अंक पुगेको छ । समान ३५ अंक भएपनि लेस्टर गोलअन्तरमा पछि छ । पराजित क्रिस्टल प्यालेस २३ अंक जोडेर १३औं स्थानमा छ ।