एजेन्सी – इंग्लिस प्रिमियर लिगमा आज राति लेस्टर सिटी र चेल्सीबीच प्रतिस्पर्धा हुदैछ । खेल लेस्टर सिटीको मैदान किङ पावर स्टेडियममा नेपाली समयअनुसार राति २ बजे हुनेछ ।

घरेलु मैदानमा हुने खेलमा लेस्टर सिटी चेल्सीलाई स्तब्ध पार्दै शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । चेल्सीलाई हराउन सके लेस्टरले म्यानचेस्टर युनाइटेडलाई १ अंकले तथा म्यानचेस्टर सिटीलाई ३ अंकले पछि पार्नेछ ।
लेस्टरको १८ खेलबाट ३५ अंक छ । १८ खेल खेलेको युनाइटेडको ३७ तथा १७ खेल खेलेको सिटीको ३५ अंक छ । चेल्सीविरुद्ध जेमी भार्डी टोलीका लागि मुख्य हतियार हुनेछ ।
जेम्स म्याडिसन, हार्भे बार्नेस, युरी टिलेमान्स, विलफ्रेड एनडिडि, टिमोथी कास्टाग्ने, जोनी इभान्स, वेस्ले फोफाना, एयोजी पेरेज, केलिची इयानाचो, जेम्स जस्टिन र गोलरक्षक कास्पर टोलीमा रहेका छन् ।
यता, चेल्सी पनि लेस्टर सिटीलाई उसकै मैदानमा हराउदै अंक तालिका सुधार्ने लक्ष्यमा हुनेछ । पछिल्लो समय खस्कदो प्रदर्शन गरिरहेको चेल्सी पछिल्लो दुई खेलमा जित निकाल्दै जितको लयमा उभिएको छ ।
क्रिस्टियन पुलिसिस, ट्याम्मी अब्राहम, हाकिम जियाच, मासन माउन्ट, जर्गिन्हो, माटियो कोभासिस, टिमो वेर्नर, ओलिभर जिरुउड, काई हाभर्टज, थियागो सिल्भा, रिस जेम्स, बेन चिलवेल, कुर्ट जोउमा र इडुआर्ड मेन्डी टोलीसँग रहेका छन् ।
चेल्सी १८ खेलबाट २९ अंक जोडेर सातौ स्थानमा रहेको छ । लेस्टरलाई हराए चेल्सीले एक स्थान सुधार गर्नेछ । यि दुई टोलीको पछिल्लो १६ भेटमा चेल्सी ९ खेलमा विजयी भएको छ । २ खेल लेस्टरले आफ्नो पक्षमा पार्दा ५ खेल बराबरीमा सकिएको छ ।
गत सिजनको प्रिमियर लिगको दुवै खेल बराबरीमा सकिएको थियो । गत जुनमा भएको एफए कपमा चेल्सी १–० ले विजयी भएको थियो । २२ डिसेम्वर २०१८ मा १–० ले पराजित भएयता चेल्सीले लेस्टरसँग हार बेहोरेको छैन ।