काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को केन्द्रिय समितिले प्रस्तुत गरेको सबै प्रस्तावलाई १९ औं साधारण सभाले पास गरेको बताइएको छ ।

साधारण सभा पछिको पत्रकार सम्मेलनमा बोल्दै किरण राईले अनुमानित बजेट, बार्षिक कार्यक्रम, विधान संसोधन, जिल्ला सदस्य, प्रदेश जिल्ला संघको तदर्थ समितिलगायत सभाले पास गरेको बताएका छन् । साधारण सभाले चालु आर्थिक वर्ष २०७७ ७८ को झन्डै ८६ करोड रुपैयाँको अनुमनित बजेटलाई अनुमोदान गरेको छ ।
त्यस्तै २०७७ सालमा राष्ट्रिय लिग र सम्पन्न गन बाकी बी डिभिजन सहित १० प्रतियोगिता र वर्कसप तथा सेमिनार रहेका आयोजना गरिने प्रस्तावलाई पनि साधारण सभाले पास गरेको छ । २०७८ सालको लागि भने एन्फाले २४ वटा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्ने तय गरिएको छ ।

सोही सभाले गत आर्थिक वर्षमा एक करोड ४५ हजार ४ सय ६६ रूपैयाँ घाटा भएको जनाएको छ । गत वर्ष ४० करोड २६ लाख ४८ हजार ६ सय ९९ रुपैयाँ आम्दानी भएको र ४१ करोड २६ लाख ८५ हजार १ सय ५६ खर्च बताइएको छ ।
यस्तै एन्फाले उधारो रहेको सम्पूर्ण पुरस्कार रकम चाडै बाँड्ने बताएको छ । सन् २०१७ को साफ यू-१८ च्याम्पियनसिप विजेता टोलीदेखि गत वर्ष नेपालमा आयोजना भएको १३ औं सागमा पदक विजेता टोलीलाई घोषणा गरे अनुरुप पुरस्कार प्रदान गरिएको छैन ।
अब केन्द्रीय समिति २१ सदस्यीय
एन्फाको अबको कार्यसमितिमा २१ सदस्यीय समिति हुने भएको छ । अहिले १७ सदस्यीय निर्वाचित एन्फा कार्यसमिति रहेको छ । चार वर्षे कार्यकाल रहेको एन्फाको कार्यसमितिको पछिल्लो निर्वाचन २०७५ वैशाख २२ गते भएको थियो ।

एन्फाको अब हुने निर्वाचनले २१ जनाको कार्यसमितिमा अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष र १५ जना सदस्य चयन गर्नेछ । सदस्यमा दुई महिला अनिवार्य हुनुपर्ने प्रावधान राखिएको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा ४ मध्येबाट एक हुने भएपनि अब वरिष्ठ उपाध्यक्षको लागि निर्वाचन हुनेछ ।
यसपटक १ उपाध्यक्ष र ३ सदस्य जसमा एक महिला अनिवार्य थपिएको छ । अब कार्यसमितिमा उपाध्यक्ष, सदस्य मनोनित गर्न पाइने छैन । १ महासचिव, १ कोषाध्यक्ष, ३ सह महासचिव भने मनोनित कार्यसमितिले गर्न पाउने साधारण सभाले पास गरेको प्रवक्ता राईले जानकारी दिए ।
एन्फाका जिल्ला सदस्य अब ४८
एन्फाको जिल्ला सदस्य संख्या ४८ पुगेको छ । सभाले खोटाङ, मनाङ र नवलपरासी सुस्ता पूर्व जिल्लालाई सदस्यता प्रदान गरेसँथै सदस्य जिल्ला ४८ पुगेको हो ।
त्यस्तै पछिल्लो समय गठन भएका तीन प्रदेश फुटबल संघको तदर्थ समितिलाई सभाले अनुमोदन गरेको छ । जसमा प्रमोद हमाल अध्यक्ष रहेको कर्णाली, लोकेन्द्र गुरुङ अध्यक्ष रहेको गण्डकी र भुपेन्द्र थापा अध्यक्ष रहेको लुम्बिनी प्रदेश छन् ।
एन्फाले प्रक्रिया मिचेको आरोप
अडिट एन्ड कम्प्लायन्स कमिटीका तर्फबाट पहिलो पटक संयोजक दीपक खातीले साधारण सभामा धाराणा राखेका छन् । एन्फाले सबै कामको अनुगमन गर्ने अधिकार भएको कमिटीले एन्फा केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाएपनि त्यो साधारण सभामा भने प्रस्तुत गरिएन ।
एन्फामा भएका आर्थिक गतिविधि, नियुक्तलगायतका विषयमा गरिएको अध्ययनले कतिपय प्रक्रियागत त्रुटी भेटिएको र त्यसमा सुधार गर्न आवश्यक रहेको संयोजक खातीले औंल्याएका थिए । उनले साधारण सभामा संक्षित रुपमा कमिटीको प्रतिवेदनको प्रस्तुत गर्दै साधारण सभाका प्रतिनिधिले आवश्यता महसुस गरे त्यो उपलब्ध गराउने प्रतिबद्धता जाहेर गरेका थिए ।
एन्फा मुख्यालयको पूर्न निर्माणमा ६ निर्माण कम्पनीलाई ठेक्का दिएको विषयमा पनि कमिटीले प्रश्न उठाएको बताइएको छ । त्यस्तै विभिन्न पदमा गरिएको नियुक्तीमा पनि प्रक्रिया नपुगेको प्रतिदेवनमा उल्लेख गरिएको छ ।
एन्फा प्रवक्ता राईले अडिट एन्ड कम्प्लायन्स कमिटीले एन्फाका सबै आर्थिक गतिविधिलाई निगरानी र आवश्यक सुझाव दिन सक्ने वैधानिक व्यवस्था गरिएको प्रष्ट पारे । उनले भने, ‘कमिटीले दिएका कतिपय सुझाव पालना भइरहेका छन्, कति आउने दिनमा कार्यान्वयन हुँदै जानेछ ।’
एन्फाका कार्यसमितिको बैठकमा पनि संयोजक खातीले आफ्नो कमिटीलाई एन्फाले असहयोग गरेको आरोप लगाएका थिए । त्यसै कारणले पनि साधारण सभामा संयोजक खातीलाई संक्षित प्रतिवेदनको मौका दिइएको बताइएको छ ।

साधारण सभामा भाग लिन पाउनुपर्ने माग
साधारण सभाको उद्घाटन सत्रको सुरुवातमा निलम्बित भक्तपुर जिल्ला फुटबल संघले असन्तुष्टि व्यक्त गर्दै विरोधको पर्चा बाढेको थियो । गौतम सुजखु अध्यक्ष रहेको भक्तपुर जिल्ला संघलाई विघठन गर्दै एन्फाले तदर्थ समिति गठन गरेको थियो ।
भक्तपुर जिल्ला संघको विवाद अदालतमा विचाराधिन रहेको छ । साधारण सभा सम्मका लागि सुजखु अध्यक्ष रहेको जिल्लालाई निलम्बन गरिएको उल्लेख गर्दै प्रवक्ता राईले भने, ‘अहिले अदालतमा विचाराधिन रहेकोले उहाँहरुलाई साधारण सभामा माग लिन दिएनौं ।’
मन्त्री लामाले साधारण सभा उद्घाटन गरे
युवा तथा खेलकुद मन्त्री दावा लामाले एन्फाको १९ औं साधारण सभाको उद्घाटन गरेका थिए । सो अवसरमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले आफूहरु निर्वाचित भएयता फुटबलको संस्थागत विकास, ग्रास रुट र महिला फुटबल विकासका लागि महत्त्वपूर्ण कदम चालेको दाबी गरेका थिए ।
सो अवसरमा मन्त्री लामा, पूर्व खेलकुद मन्त्री पुरुषोत्तम पौडेल, मन्त्रालयका सचिव रामप्रसाद थपलिया, राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले एन्फा साधारण सभाको सफलताको कामना गरे ।
साधारण सभामा एन्फा ९९ सदस्य संस्था जिल्ला, क्लब (ए,बी,सी), प्रदेश, ४ समिति (महिला, रेफ्री, खेलाडी, प्रशिक्षक), समान २ तथा परिवेक्षक गरि झन्डै २ सय जनाको सहभागिता रहनेको एन्फाले जनाएको छ ।

