एजेन्सी – लन्डन क्लब चेल्सीमाथि सहज जित हात पार्दै लेस्टर सिटी इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको छ ।

घरेलु मैदानमा चेल्सीमाथि २–० को सहज जित निकाल्दै लेस्टरले म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीलाई पछि पार्दै प्रिमियर लिगको शीर्षस्थानमा उक्लिएको हो ।
लेस्टरको जितमा विलफ्रेड एनडिडि र जेम्स म्याडिसनले गोल गरे । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । किङ पावर स्टेडियममा मंगलबार राति भएको खेलमा घरेलु टोलीले खेलको छैटौ मिनेटमा नै अग्रता लिएको थियो । विलफ्रेड एनडिडिले हार्भे बार्नेसको पासमा गोल गर्दै लेस्टरलाई अघि बढाएको थिए ।

१६औं मिनेटमा टिमोथी कास्टाग्नेबाट मार्स अल्ब्राइटनको क्रस पासमा जेम्स म्याडिसनको प्रहार बारमा लागेर फर्कदा लेस्टर अग्रता दोब्बर पार्नबाट चुक्यो । २१औं मिनेटमा मासन माउन्टको कर्नरमा थियागो सिल्भाको हेडरलाई लेस्टरका गोलरक्षक कास्परले बचाउदै बराबरी टारे ।
३४औं मिनेटमा अल्ब्राइटनको पासमा जेमी भार्डीको प्रहारलाई चेल्सीका गोलरक्षक इडुआर्ड मेन्डीले मुस्किलले बचाए । ३८औं मिनेटमा चेल्सीले पेनाल्टी अपिल गरेपनि भिएआरबाट मान्यता पाएन ।
४१औं मिनेटमा जेम्स म्याडिसनले गोल गर्दै लेस्टरको अग्रता दोब्बर पारे । गोलरक्षक कास्परको लामो पासमा मार्स अल्ब्राइटनले मिलाइदिएको पासलाई म्याडिसनले एन्टेनियो रुडिगर र गोलरक्षक मेन्डीलाई बिट गर्दै गोल गरेका थिए ।
५१औं मिनेटमा ट्याम्मी अब्राहमको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा चेल्सीले गोल अन्तर घटाउन सकेन । ५५औं मिनेटमा मासन माउन्ट चुके । ५७औं मिनेटमा युरी टिलेमान्सको प्रहारलाई चेल्सीका गोलरक्षक मेन्डीले उत्कृष्ट बचाउ गरे ।
८७औं मिनेटमा टिमो वेर्नरले गोल गरेपनि भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा मासन माउन्ट र हाकिम जियाचको समन्वयमा बनेको मुभमा लेस्टरका गोलरक्षक कास्पर बाधक बन्दा चेल्सीले हार बेहोर्न पुग्यो ।
जितसँगै शीर्षस्थानमा उक्लिएको लेस्टरको १९ खेलबाट ३८ अंक पुगेको छ । एक खेल कम खेलको युनँइटेडको ३७ तथा दुई खेल कम खेलेको सिटीको ३५ अंक छ । पराजित चेल्सी २९ अंक जोडेर आठौं स्थानमा यथावत रहेको छ । चेल्सी शीर्षस्थानको लेस्टरसँग ९ अंकले पछि परिसकेको छ ।