एजेन्सी – बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कोम्यानले आफ्नो अधिकांश पत्रकार सम्मेनलमा लियोनल मेस्सीका बारेमा केहि न केहि जवाफ दिनै पर्ने हुन्छ ।

यसपटक पेरिस सेन्ट जर्मेन (पिएसजी) का खेलकुद निर्देशक लियोनार्दोको मेस्सीलाई भविष्यमा लिन सकिने विषयमा कोम्यानले जवाफ दिएका छन् । जुनमा बार्सिलोनासँगको सम्झौता सकिएपछि इच्छुक भएको खण्डमा मेस्सीलाई लिन सकिने लियोनार्दोले बताएका थिए ।
लियोनार्दोको त्यो भनाईमा डट प्रशिक्षक कोम्यान आश्चार्यमा परेनन् । ‘यदि कसैले मलाई नेयमार र केलियन एमबाप्पे लिन इच्छुक छौ ? भनेर सोधे भने त्यसमा मेरो जवाफ इच्छा छ भन्ने हुन्छ,’ पत्रकार सम्मेलनमा कोम्यानको जवाफ थियो ।
स्पेनिस सुपर कपका दौरान कप्तान समेत रहेको मेस्सीले खेल जीवनकै पहिलो पटक रातो कार्डको सामना गर्नुपरेको थियो । तर, त्यसले उनको अभ्यासमा खासै फरक नपरेको कोम्यानले बताएका छन् ।
‘लियोले अभ्यासमा निकै मेहनत गरे । उनमा कुनै परिवर्तन देखिन’, उनले थपे,‘ फाइनलमा जे भयो त्योबाट हामी सबै दुःखी छौं । तर, हामीले अघि बढ्नै पर्ने हुन्छ । हामी सुधारको बाटोमा छौं । मुख्यतः हामीले रक्षापंक्तिमा सुधार गर्नुपर्नेछ ।’
ब्रागाबाट ३१ मिलियन युरोमा ल्याएका फ्रान्सिस्को ट्रीन्काओको प्रदर्शनलाई लिएर भने केहिले आलोचना गरेका छन् । कोम्यानले उनको बचाउ गरे । ‘ उनी युवा छन् । बार्सिलोना जस्तो क्लबमा उनले एक एक कदम अघि बढ्नुपर्ने हुन्छ । हतारिएर मात्रै हुँदैन’, उनले थपे,‘ उनीले मेहनत गरिरहेका छन् । उनी बढी समय मैदानमा बिताउन प्रयास गरिरहेका छन् । उनले यहाँ धेरै खेलेका छ्रन । हामीसँग थुप्रै प्रतिस्पर्धा छन् । भविष्यका लागि हामी उनीलाई हेरिरहेका छौं ।’