काठमाडौं (हाम्रो खेलकुद) – रामधुनी फुटबल क्लब सुनसरीमा जारी इनरूवा नकआउट नाइन ए साइड फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

सुनसरीकै गोल्डेन स्टार क्लबलाई १–० ले हाराउँदै राधुनी अन्तिम आठमा पुगेका हुन् । खेलको सुरुवातमै अभिषेक कालिकोटीले गरेको गोल खेलको निर्णाय बनेको थियो । उनले तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
विजेता टोलीका श्याम चौधरी म्यान अफ दी म्याच घोषित भए । उनले १ हजार रुपैयाँ प्राप्त गरे । इनरुवा नगरपालिकाको वडा नं ५ का अध्यक्ष अन्जली पोखरेलले उनलाई रकम हस्तान्तरण गरे ।
प्रतियोगिताको तेस्रो क्वार्टरफाइनलमा सुनसरीका दुई टोली दुहबी स्पोर्टस् क्लब र मधेसा युवा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

इनरुवा फुटबल क्लबको आयोजनामा जारी प्रतियोगितामा १२ टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले उपाधिसहित ३० हजार र दोस्रो हुने टोलीले २० हजार रुपैयाँ प्राप्त गर्नेछ ।